ad ad

समाज


झापाका दुई स्थानीय तहले गरे लकडाउन

झापाका दुई स्थानीय तहले गरे लकडाउन

नेपालखबर
साउन १८, २०७७ आइतबार १५:५५,

झापामा कोरोना संक्रमित बढेका कारण दुईवटा स्थानीय तहले बन्दाबन्दी (लकडाउन) गरेका छन्। समुदायस्तरमा कोरोना संक्रमण देखिएको भन्दै अर्जुनधारा नगरपालिका र बिर्तामोड नगरपालिकाले लकडाउन गरेका हुन्। अर्जुनधारा नगरपालिकाले आइतबार बिहानदेखि पाँच दिनका लागि बन्दाबन्दी गरेको छ भने बिर्तामोड नगरपालिकाले अनिश्चितकालका लागि बन्दाबन्दी गरेको हो।

बिर्तामोड नगरपालिकाले आज अपराह्न नगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै आइतबार राति १२ बजेदेखि अर्को सूचना नभएसम्मका लागि लकडाउनको घोषणा गरेको हो। कोरोना परीक्षण गर्नुपूर्व बाह्रदशी र इलामका कोरोना संक्रमितहरु बिर्तामोडमा खुलेआम हिँड्डुल गरेको र उनीहरुको सम्पर्कमा आएकालाई कोरोना संक्रमणको उच्च जोखिम रहेकाले बिर्तामोडलाई लकडाउन गरिएको नगरपालिकाले पत्रकार सम्मेलनमा जानकारी गराएको छ।

कोरोना संक्रमितको सम्पर्कमा आएका बिर्तामोडका ११६ जना यतिबेला होम क्वारेन्टिनमा छन्। होम क्वारेन्टिनमा बस्नेहरु केही राजनीतिकर्मीहरु पनि रहेका छन्। कोरोना संक्रमित बाह्रदशी गाउँपालिकाका नेपाल कम्युनिष्ट पार्टीका नेता र सोही ठाउँका स्वास्थ्यकर्मी एवं औषधि व्यवसायीको सम्पर्कमा आएका बिर्तामोडका ६८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी होम क्वारेन्टिनमा राखिएको हो।

त्यस्तै इलामका संक्रमितको सम्पर्कमा आएका ४८ जनालाई कन्ट्याक्ट ट्रेसिङ गरी उनीहरुलाई पनि होम क्वारेन्टाइनमा राखिएको छ। संक्रमितहरु आएपछि सम्भावित सङ्क्रमणको जोखिममा परेको बिर्तामोडमा पहिलोपटक ठूलो मात्रामा कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो। बाह्रदशीका दुईजना संक्रमितको सम्पर्कमा आएका ६८ र इलामका संक्रमितको सम्पर्कमा आएका ४८ र अन्य गरी जम्मा १३३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले जानकारी दिए।

उता बाह्रदशी गाउँपालिकाले वडा नं १, २ र ३ मा गरिएको बन्दाबन्दी आजदेखि खुलाएको छ। गाउँपालिकाले आज सार्वजनिक सूचना जारी गर्दै लकडाउन खुलाएको जनाएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .