धनगढीको शहिद गेटमा बिहीबार साँझ शक्तिशााली विस्फोट भएको छ।
विस्फोटमा परी पाँच जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए।
धनगढीको शहिद गेट नजिकैको निलम होटलमा भएको विस्फोटमा परी होटल सञ्चालक धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे, बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान र जितेन्द्र यादव घाइते भएका हुन्।
डीएसपी बस्नेतका अनुसार रामसिंह र केशवलाई बढी चोट लाागेको छ। घाइते सबैको मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा रहेका प्रहरीका अनुसार विस्फोट भएको ठाउँमा पेस्तोल पनि फेला परेको छ। पेस्तोल सक्कली वा अरु के हो एकीन हुन नसकेको प्रहरीको भनाइ छ।
प्रबक्ता बस्नेतले घटना के कारण र कसरी भएको हो अनुसन्धान भइरहेको बताउँदै घटनाको प्रकृति हेर्दा बम विस्फोट भएको हुनसक्ने बताए। उनले सुरुमा सिलिण्डर विस्फोट भएको आशंका थियो तर घटना स्थलको प्रकृति हेर्दा बम विस्फोट भएको बताए।


प्रतिक्रिया