समाज


किसानले भुक्तानी नपाउँदै उखु किसानका अगुवाको निधन

किसानले भुक्तानी नपाउँदै उखु किसानका अगुवाको निधन

नेपालखबर
साउन ८, २०७७ बिहिबार ४:५,

मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष वेदबहादुर बुढाथोकीको निधन भएको छ।

क्यान्सर रोगबाट पीडित ७४ वर्षीय बुढाथोकीको गएराति उपचारको क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा निधन भएको उनका छोरा युवराज बुढाथोकीले जानकारी दिए।

हरिवन नगरपालिका ११ घर भएका बुढाथोकी सर्लाहीका उखु किसानका अगुवा नेता थिए। उनी नेपाल राष्ट्रिय भूतपुर्व सैनिक संघ सर्लाहीका अध्यक्षसमेत हुन्।

उखुको उचित मूल्यलाई लिएर सर्लाहीका किसानले गर्ने संघर्षमा विगत २० औँ वर्षदेखि बुढाथोकीले नेतृत्व गर्दै आएका थिए। उखुको मूल्यलाई लिएर उद्योगी र राज्यपक्षसँग वर्षेनी हुने वार्ताका बुढाथोकी अगुवा थिए।

नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले वेदबहादुर बुढाथोकीको निधनले देशैभरीका उखु किसानको न्यायिक आन्दोलनमा ठूलो क्षति पुगको बताए।

‘दुई दिन अघिसम्म पनि उहाँ उद्योगीले किसालाई उखुको भुक्तानी नदिएकोमा चिन्ता व्यक्त गर्दै हुनुहुथ्यो,’ बुढाथोकीले नेपालखबरसँग भने, ‘उहाँको निधनले सर्लाहीसहित देशैभरीका लाखौँ उखु किसान मर्माहत भएका छन्।’

सर्लाहीसहित देशका केही उद्योगले किसानको करोडौँ रुपैयाँ अझै भुक्तानी दिएका छैनन्। राज्यले पटकपटक तुरुन्त किसानको रकम भुक्तानी गर्न निर्देशन दिए पनि उद्योगीहरुले बेवास्ता गर्दै आएका छन्।

उखुको उचित मूल्य समयमै नपाउँदा उखु खेतीप्रति किसानको आकर्षणसमेत घट्दै गएको छ। बिगत केही वर्षयता सर्लाहीका मात्रै हजाराैँ  किसानले उखु खेती छाडेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad