राजधानी काठमाडौं भित्रिने मुख्यमार्ग पृथ्वी राजमार्ग खुल्न अझै केही दिन लाग्ने भएको छ।
धादिङ र चितवनका बिभिन्न ठाउँमा बाढी पहिरोले सडकमा क्षति पुर्याएकाले सडक सुचारु गर्न केहि समय लाग्ने बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी वसन्त लामाले बताए।
सो राजमार्ग अन्तरगत मौवाखोला पुलसँगै जोडिएको सडक नदीले बगाएपछि सडक सुचारु गर्न समस्या भएको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले बताए।
वैदवारका अनुसार सडकका अन्य ठाउँहरुमा गएको पहिरो भने स्काभेटर लगायत साधनहरु प्रयोग गरी पन्छाउने काम भइरहेको छ।
तर मौवाखोलाको पूलमाथी ठूलो ढुंगाले खोला छेकेकाले खोला सडकतर्फ पसेको छ।
खोलाको वहाव अहिले पनि सडकमै भएकाले त्यहाँ काम नै सुरु हुन सकेको छैन।
‘पुल भने भत्काएको छैन, पुल जोड्ने सडक बगाएको हो,’ बैदवारले भने, ‘बेलिब्रिज लगाउन पुल भत्काउनुपर्छ, ग्याबिन भरेर सञ्चालन गर्न सकिन्छ कि भनेर हेर्दैछौं।’
अहिले धादिङ र चितवनका प्रहरी प्रमुख सहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका छन्।
चितवनतर्फ पनि केही ठाउँमा पहिरो खसेकाे भए पनि पानी रोकिएको केही समयमै सञ्चालन गर्न सकिने प्रहरीले जनाएको छ।
अहिले पानी केही कम भएकाले पहिरो पन्छाउने काम सुरु भइसकेको छ।
Shares

प्रतिक्रिया