समाज


बाढीपहिरोले देशैभरिका सडक अवरुद्ध

बाढीपहिरोले देशैभरिका सडक अवरुद्ध

नेपालखबर
साउन ६, २०७७ मंगलबार १:५०,

बाढीपहिरोको कारण देशभरका सडक अवरुद्ध भएका छन्। राजधानी काठमाडौं आवात जावत गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग सोमबार बिहानैदेखि अवरुद्ध छ।

पृथ्वी राजमार्गमा पर्ने धादिङको मौवाखोलाको पुल बाढीले भत्किएको छ। पृथ्वी राजमार्गमा पर्ने चितवन र धादिङका ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध छ।

मौवाखोलामा बेलिब्रिज राखेर सडक सञ्चालन गर्ने तयारी सुरु गरिएको सडक विभागले जनाएको छ। तर, त्यसका लागि अझै एकदुई दिन लाग्ने विभागको भनाई छ।

राजधानी काठमाडौंलाई हेटौंडासँग जोड्ने छोटो मार्ग बल्खु कुलेखानी हेटौँडा र कान्ति लोकपथ पनि बाढीपहिरोको कारण अवरुद्ध छन्। मकवानपुरको इन्द्रसरोवर गाउँपलिकाका विभिन्न ठाउँमा पहिरो जाँदा वर्खा लागेदेखि नै बल्खु हेटौँडा सडक भएर निर्वाध गाडी चल्न सकेका छैनन्।

कान्ति लोकपथको घट्टेपख, बागधारा, शिलालेख र छपेलीमा पहिरोले सडक अवरुद्ध छ।

त्यसैगरी विपी राजमार्ग पनि पहिरोले अवरुद्ध छ। सिन्धुलीको कमेरेफाँटमा पहिरो जाँदा यो सडकमा गाडी चल्न नसकेका प्रहरीले जनाएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेकाले सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। त्यस्तै बेनी जोमसोम कोरोला सडकखण्डमा पर्ने म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वरमा पनि पहिरो खस्दा सडक अवरुद्ध छ। म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ।

अरनिको राजमार्ग पनि बाढीपहिरोले अवरुद्ध छ। यो सडकखण्डमा पर्ने माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएको सडक विभागले जनाएको छ।

त्यसैगरी कोसी राजमार्ग, कर्णाली राजमार्ग, सिद्धिचरण राजमार्ग, सिद्धार्थ राजमार्ग, स्याफ्रु-रसुवागढी, बेसिशहर चामे सडक पनि ठाउँठाउँमा पहिरो खसेका कारण अवरुद्ध बनेका छन्।

लामोसाँधु बाह्रबीसे सडक सुनकोसी नदीले एक सय मिटर बगाएको छ। त्यसैगरी पूर्वपश्चिम राजमार्गमा पर्ने रौतहटको चन्द्रनिगहापुर नजिक जुडबेला, नवलपरासीको गैँडाकोट लगायतका ठाउँमा पनि बाढीका कारण सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad