ad ad

समाज


धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टिनमा

धरहरा पुनःनिर्माणका ७० कामदार क्वारेन्टिनमा

नेपालखबर
असार ३१, २०७७ बुधबार ६:३१,

धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ।

सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए। रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो। ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको र पीसीआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ।

कोरोना संक्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टिनमा राखिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए। अहिले उनीहरुको परीक्षणको लागि नमूना सङ्कलन भइरहेको छ। परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताए।

‘अहिले धरहराको पुनःनिर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन्। हालसम्मा ३९ प्रतिशत काम सम्पन्न भएको छ’, उनले भने।

भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्नेगरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको छ। निर्माणको लागि रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ।

पहिलाको धरहरा भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ। जहाँ दुईवटा लिफ्ट हुनेछन्। एउटा परम्परागत भ¥याङ रहनेछ। लिफ्ट र भ¥याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ। अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ। कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ। नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।

सुरुमा ११ तले धरहरा विसं १९९० को भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो। सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए। गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ। उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेना गृह हुनेछ।

धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ। नयाँ धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण हुनेछ। धरहराको १८औँ तलामा अवलोकलन कक्ष हुनेछ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .