स्लोभेनियास्थित उनको गृहनगरनजिकै बनाइएको काठको प्रतिमा जलाइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
सो प्रतिमा निर्माण गरेका अमेरिकी कलाकार ब्र्याड डाउनीका अनुसार अमेरिकी स्वतन्त्रता दिवसको दिन जुलाई ४ मा सो प्रतिमामा आगो लगाएर क्षति पुर्याइएको थियो।
प्रहरीले यस विषयमा अनुसन्धान सुरु गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ। ह्वाइट हाउसले भने यस विषयमा प्रतिक्रिया दिएको छैन।

मेलानिया ट्रम्पसँग थोरै मात्रै समानता भएको सो प्रतिमा उनको गृहनगर सेभ्निकाको बाहिरी क्षेत्रमा रहेको एउटा रूखको काठमा कुँदिएको थियो।
डोनल्ड ट्रम्पको राष्ट्रपतीय शपथ ग्रहण समारोहमा सहभागी हुँदा मेलानियाले लगाए जस्तै नीलो लुगा देखाउन रङ्गरोगन गरिएको र एउटा हातले आकाशतिर सङ्केत गरेको देखिने उक्त प्रतिमा सन् २०१९ को जुलाईमा अनावरण गरिएको थियो।
गत वर्षको अगस्टमा स्लोभेनियाको राजधानीनजिकै राष्ट्रपति ट्रम्पको २६ फिट अग्लो काठको प्रतिमा पनि अनावरण गरिएको थियो।
तर गत ज्यानुअरी महिनामा अज्ञात व्यक्तिहरूले ट्रम्पको उक्त प्रतिमामा आगो लगाएर खरानी बनाइदिएका थिए। एजेन्सी



प्रतिक्रिया