समाज


बाढीले बगाउँदा एक महिला बेपत्ता, पहिरोले ८ परिवार विस्थापित

बाढीले बगाउँदा एक महिला बेपत्ता, पहिरोले ८ परिवार विस्थापित

नेपालखबर
असार २४, २०७७ बुधबार ३:२९,

प्युठानमा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। स्वर्गद्वारी नगरपालिका ३ भाजुरीवाङकी ५६ वर्षीया हेमा कुँवर मंगलबारदेखि बेपत्ता भएकी हुन्।

रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएकी प्युठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार प्रहरी खटिएका भए पनि अझै फेला पार्न नसकिएको डिएसपी कार्कीले बताए।

यसैबीच तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो जाँदा डोटीको सायल गाउँपालिका-२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखिको वर्षाका कारण गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन्।

पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन्। गाउँ माथिबाट पहिरो आएपछि डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएका स्थानीय तेज डुम्रेलले जानकारी दिए। ‘गाउँ माथिबाट पहिरो आएपछि आठ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरुलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ,’ उनले भने।

बाढी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने पहिरो पीडितमध्येका एक नरबहादुर ओलीले बताए। ‘अविरल वर्षासँगैको पहिरोले घरनै पुर्ने डरले चौपाया, खाद्यान्न सरसामान छाडेर आफन्तको घरमा सरेका छौँ,’ ओलीले भने।

गाउँमाथिको पूरै जमीन फाटेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा छन्। बर्सेनि बाढी पहिरोका कारण सायल गाउँपालिकामा स्थानीयले अकालमै ज्यान गुमाउँदै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad