ad ad

समाज


धमिलो संसारमा पार्वतीले बालेको दीयो (भिडियाे)

धमिलो संसारमा पार्वतीले बालेको दीयो (भिडियाे)

सन्तोष न्यौपाने
असार २२, २०७७ सोमबार १०:४६,

रेटिनामा बसेको कालो धब्बाले सूर्यको प्रकाशलाई दिमागसम्म पुग्नबाट रोकेको छ। जसले उनको आँखामा ग्रहण लगाइदिएको छ। मान्छेका अनुहार धमिला हुँदै गए। तिनलाई चिन्न आवाजको सहारा लिनुपर्‍यो। किताबका अक्षर ठम्याउन सम्भव रहेन।

पार्वती श्रेष्ठको संसार यसैगरी धमिलो बन्दै गयो। उनी राम्ररी आँखा देख्न सक्दिनन्। तर, इच्छाशक्ति र कठोर परिश्रमले उनी त्यो बाधालाई पन्छाउन सफल भएकी छन्।

बिहीबार मैतीदेवीस्थित उनको कोठामा पुग्दा उनी अफिस जाने तरखरमा थिइन्। सेतो र निलो रंगको ड्रेस कोडमाथि दराजमा झुन्डिएको कार्ड झिकेर घाँटीमा भिरिन्। जसमा उनको परिचय छ– वरिष्ठ प्रशासन सहायक, सामाजिक सुरक्षा कोष, नेपाल सरकार।

सरकारी जागिर भन्नेबित्तिकै प्रतिस्पर्धी हजारौँ हुन्छन्, त्यसमाथि दृष्टिविहीनका लागि त त्यो निकै कठिन थियो।

तर, मेहनतको बलले पार्वतीले त्यो कठिनाइ पार गरिन्। आँखाको समस्या हुँदाहुँदै पनि उनी हजारौँसँग प्रतिस्पर्धा गरेर सरकारी सेवामा प्रवेश गर्न सफल भइन्।

रामेछाप, मन्थली नगरपालिका–४ घर भएकी २५ वर्षे पार्वती जीवनलाई अनवरत संघर्ष ठान्छिन्। उनी शारीरिक अपांगता भएर पनि संसारलाई उज्यालो दिन सफल हेलेन केलर र स्टिफन हकिङलाई उदाहरण मान्छिन्।

‘कुनै पनि कुरामा प्रण हुनुपर्छ,’ पार्वती भन्छिन्, ‘साहसले सफलता दिन्छ।’

parbati_shrestha_2.jpg

जब दृष्टिले साथ छाड्यो
जन्मैदेखि उनको आँखामा समस्या थियो।

‘यसलाई सामान्यत न्यून दृष्टि भनिन्छ,’ पार्वतीले सुनाइन्, ‘गर्भदेखि नै यो समस्या आएको हो।’

तर, स्कुलमा हुँदासम्म उनको दृष्टि राम्रै थियो। पढ्न, लेख्न सक्थिन्। विस्तारै समस्या बढ्दै गयो।

‘यो समस्या नै यस्तै हो,’ डाक्टरले उनलाई भने, ‘यसको उपचार हुँदैन।’

डाक्टरले पार्वतीलाई भनेअनुसार रेटिनाको एक भागमा धब्बा भएका कारण उनको दृष्टि कमजोर भएको हो।

‘रेटिनामा भएको यस्तो दाग हटाउन जटिल हुँदोरहेछ,’ पार्वतीले सम्झिइन्, ‘यो ब्रेनको नसासँग जोडिने भएकाले सर्जरी पनि गर्न नसकिने रहेछ।’

१५, १६ वर्षसम्म नजिकै लगेर भएपनि उनी पढ्न सक्थिन्। तर, त्यसपछि पढ्न र लेख्न धेरै गाह्रो भयो।

‘कलेज आएसँगै मेरो आत्मविश्वास घट्दै गयो,’ २०६६ मा काठमाडौँ आएपछिको समस्या पार्वतीले सुनाइन्, ‘दृष्टिमा थप समस्या भयो। अक्षर बिग्रिँदै गए।’

कलेज सुरु भएपछि उनले ‘म्याग्निफाइङ’ चस्मा प्रयोग गर्न थालिन्। यसले अक्षरलाई ठूलो बनाइदिन्छ। यो लगाएर पढ्न भने धेरै अप्ठेरो हुन्थ्यो। एउटा, दुईटा अक्षर गर्दै पढ्नु पर्ने। समय पनि धेरै लाग्ने। टाउको दुख्ने।

थप समस्या भोग्नु पर्ने भएपछि उनले त्यो चस्मा प्रयोग गर्न पनि छाडिदिइन्।

तर, पढ्नु त थियो। त्यसैले विकल्प खोज्न थालिन्।

उनी अडियो, भिडियो रेकर्ड सुन्न थालिन्। साथीहरुले पढेको ध्यान दिएर सुनिन्।

parbati_shrestha_11.jpg

सरकारी जागिरको यात्रा
कलेजको पढाइ चलिरहेको थियो। तर, उनी कुनै न कुनै सीप विकासमा तल्लिन रहिन्।

१२ कक्षामा पत्रकारिता पढेकी पार्वतीले उद्घोषण तालिम लिइन्। सीजेएमसी एफएममा छोटो समय काम गरिन्। त्यहाँ उनले एउटा कार्यक्रम चलाउँथिन्।

‘तर व्यवस्थापन परिवर्तन भएपछि मैले त्यो अवसर गुमाएँ,’ उनले भनिन्।

त्यसपछि उनले ब्लाइन्ड युथ एसोसियसन नेपालमा केही समय काम गरिन्। अहिले उनी त्यस संस्थाको बोर्ड सदस्य छिन्।

उनको मनमा लोकसेवाप्रतिको आकर्षण बढ्दै थियो। जहाँ सम्मान र स्थायित्व दुवै छ, भन्ने उनको मनमा थियो।

‘सरकारी जागिर भनेको स्थायी हुन्छ। यो डिग्निफाइड जब हो,’ उनले भनिन्, ‘नीति निर्माणको तहमा पुग्न सकिन्छ भन्ने कारणले पनि सरकारी जागिरमा अझ बढी प्रेरित भएँ।’

त्यसैले उनले संकल्प गरिन्, जसरी पनि लोकसेवा पास गर्ने।

चाहना मात्र भएर पनि भएन। उनलाई पढ्न सहज थिएन। धेरै विषय उनले साथीहरुसँग बसेर पढिन्। साथीहरुसँग बसेर पढेका कुरा रेकर्ड गर्थिन्। त्यो रेकर्ड पुनः सुन्थिन्।

‘मैले पूरै सुनेकै भरमा पढेँ,’ उनले आफूले लोकसेवाको तयारी गर्दाको अनुभव सुनाइन्, ‘कक्षामा पनि पनि रेकर्ड गर्थें।’

अनलाइन कक्षा पनि लिइन् उनले। युट्युबले पनि ठूलो सहायता पुग्यो उनलाई।

सुरुमा नेपाल वायु सेवा निगममा नयाँ भर्ना खुलेको थियो। उनले त्यसलाई आधार बनाएर पढिन्। वायु सेवाको प्रशासनको चौथो तहको लागि परीक्षा दिइन्।

त्यसलगत्तै सामाजिक सुरक्षा कोषमा भर्ना खुल्यो। नेपाल सरकारले पहिलो पटक यस कोषको स्थापना गरेको थियो। उक्त कोषको वरिष्ठ प्रशासन सहायक पदमा भिडिन्।

लोकसेवाले दृष्टिविहीन व्यक्ति र हातको समस्या भएको व्यक्तिहरुलाई लेखन सहयोगी उपलब्ध गराउँछ। लेखन सहयोगी आवश्यक भएमा विद्यार्थीले त्यसको प्रमाणसहित लोकसेवामा जानकारी गराउनु पर्छ।

समस्या फेरि कस्तो भने लोकसेवाले उपलब्ध गराएको लेखन सहयोगी राम्रो पर्छ भन्ने छैन। कतिको अक्षर राम्रा हुँदैनन्। प्रतियोगीले भनेको लेख्न नसक्ने र ढिला लेख्ने समस्या हुन्छ। विद्यार्थीले मेहनत गरेर राम्रो तयारी गरे पनि लेखन सहयोगीले त्यो भाव लेख्न नसक्ने सहयोगी हुने सम्भावना रहन्छ।

parbati_shrestha_10_1.jpg

तर, संयोगवश पार्वतीले चाहेजस्तै लेखन सहयोगी भेट्टाइन्।

‘त्यही राम्रो लेखन सहयोगी भएकाले खुलामै नाम निस्कियो,’ पार्वतीले भनिन्।

पार्वतीले मेहनत गरेर दिएका दुई परीक्षामध्ये सामाजिक सुरक्षा कोषको नतिजा पहिले (२०७६ मंसिर २०) भयो। मेहनतको फल राम्रो भयो। उनको नाम खुला, महिला र जनजातिमा निस्कियो। उनले आवेदन दिएको पदमा आवश्यकता ८ पदको मात्र थियो, प्रतिस्पर्धी भने हजारौं।

अन्तर्वार्ता भएर अन्तिम नाम निस्किँदा खुलामा पदबाट उनको नाम सिफारिस भयो। गत पुस २५ गतेदेखि जागिर सुरु पनि गरिन्।

यता जागिर सुरु भयो, उता वायु सेवामा पनि उनको नाम निस्कियो। तर, उनले सामाजिक सुरक्षा कोषको कामलाई नै निरन्तरता दिने निर्णय गरिन्।

उनी पहिलो पटक अफिस जाँदै थिइन्। उनलाई आफैँप्रति गर्व थियो। तैपनि मनमा कता कता, कस्तो हुने हो भन्ने आशंका थियो।

उनको जस्तै समस्या भएका कति साथीहरुले काममा सहयोग नपाएको, दुःख पाएको उनले देखेकी थिइन्।

‘फङ्सनल लिमिटेसन’का कारणले गर्दा सम्बन्धित कार्यालयले उनीहरुलाई स्वीकार गर्न गाह्रो मानेको, काम दिन गाह्रो मानेको उनलाई थाहा थियो।

कतै आफूलाई पनि त्यस्तै अप्ठेरो हुने हो कि, उनको मनमा खेलिरहेको थियो।

तर, जब उनी कार्यालयभित्र छिरिन्, त्यो भय भाग्यो। उनको काम र व्यवहारबाट सबै जना प्रभावित भए। त्यसका लागि कार्यालय प्रमुख कपिलमणि ज्ञवालीले निकै सहयोग गरे।

‘सुरुमा जाँदादेखि नै मबाट प्रभावित हुनु भएको थियो,’ उनले सुनाइन्, ‘त्यहाँ वातावरण राम्रो थियो।’

कोषमा उनी जनसम्पर्क तथा कल सेन्टर इकाइमा पदस्थापना भएकी छन्। जहाँबाट उनले सेवाग्राहीलाई सूचना प्रवाह गर्छिन्।

उनले गर्ने कामको प्रकृति उनलाई मिल्ने खालको छ। असहज हुने काम अहिलेसम्म उनले गर्नु परेको छैन। सबै कर्मचारीको सहयोगी पाएकी छन्।

कहिलेकाहीँ सानातिना अप्ठेरा आइपर्छन्। कार्यालय आइपुगेका सेवाग्राहीलाई उनको ‘असमर्थता’को बारेमा थाहा हुँदैन। काम गर्ने क्रममा दुविधा उत्पन्न हुन्छ।

उनको विभागमा दर्ता चलानीको काम हुन्छ। अन्य कर्मचारी नभएका बेला आएको चिठीलाई फाइलमा लेखेर दर्ता गर्न उनलाई अलिकति गाह्रो हुन्छ।

‘त्यो कुरा अझ बढी मैले अनुभव गर्छु,’ उनी भन्छिन्, ‘सेवाग्राहीलाई मेरो बारेमा थाहा हुँदैन। मेरो समस्या बाहिर देखिने खालको छैन। लुकेको छ।’

parbati_shrestha_8.jpg

साहित्यप्रतिको लगाव
कमजोर दृष्टिका कारण उनी छिटो पढ्न सक्दिनथिन्। त्यसैले परीक्षाका बेला उनलाई समस्या हुन्थ्यो, कहिलेकाहीँ प्रश्न छुट्थे।

एसएलसीमा भने उनले प्रश्न पढिदिने सहयोगी पाइन्। उत्तर चाहिँ आफैँले लेखिन्।

तर, घरपरिवारको निरन्तरको हौसला र सहयोगले ‘अल्प दृष्टि’ कहिले पनि अवरोध बन्न पाएन।

‘घर बस्दा भन्दा काठमाडौँमा सजिलो होला भनेर दाइ, बुबाले काठमाडौँ पठाउनुभयो,’ पार्वती भन्छिन्, ‘तर, आमाको मन, छोरीको बारेमा अलि चिन्ता गर्नुहुन्थ्यो। काठमाडौंको भीडभाड ठाउँ। ‘बाटो कसरी काट्ली भनेर चिन्ता गर्नुहुन्थ्यो।’

उनको रहर विज्ञान पढ्ने थियो। मेडिकल लाइनमा जान मन थियो। उनले त्यस विषयको बारेमा सोधिखोजी गरिन्। तर, उनलाई त्यो सम्भव हुन्छ जस्तो लागेन। त्यसैले अध्ययनलाई मानविकीको दिशामा मोडिन्।

१२ कक्षा मनमोहन मेमोरियल कलेजमा पढेकी पार्वतीले पद्म कन्याबाट स्नातक तह सकिन। रत्नराज्य लक्ष्मी क्याम्पसबाट उलने अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिन्।

स्कुल पढ्दादेखि नै उनलाई साहित्यमा रुची थियो। बुबा शिक्षक हुनाले पनि उनले प्रेरणा पाएकी थिइन्।

त्यसमाथि समाजमा उनले गरिबी, भोकमरी, लडाइँ, झगडा देखेकी थिइन्। त्यसैले कक्षा ८ मै उनले एउटा लघु उपन्यास लेखिन्, जसको नाम थियो– अभाव। उनको यो ५० पृष्ठको उपन्यासमा कृष्ण धरावासीले भूमिका लेखिदिएका छन्। अभाव र गरिबीले मान्छेलाई कस्तो बनाउँछ भन्ने थिममा उपन्यास लेखिएको छ।

उनले विभिन्न साहित्यिक प्रतियोगिताहरुमा पनि भाग लिएकी थिइन्। उनी मुक्तक पनि लेख्छिन्। लेखनलाई निरन्तरता दिने उनको मनसाय छ।

‘पब्लिक स्पिकर नेपाल’को दोस्रो सिजनमा समेत उनले भाग लिएकी थिइन्। त्यसमा उनी उत्कृष्ट १० सम्म पुगेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .