समाज


यी हुन् भारतका खतरनाक गुन्डा विकास दुबे, जसलाई पक्रिन जाँदा डीएसपीसहित ८ प्रहरी मारिए

यी हुन् भारतका खतरनाक गुन्डा विकास दुबे, जसलाई पक्रिन जाँदा डीएसपीसहित ८ प्रहरी मारिए

नेपालखबर
असार १९, २०७७ शुक्रबार १३:४४,

भारतको कानपुरमा कुख्यात अपराधी विकास दुबेलाई पक्राउ गर्न जाँदा डीएसपीसहित ८ भारतीय प्रहरी मारिए। आपराधिक समूहले अन्धाधुन्द हानेको गोली लागेर अन्य ७ प्रहरी पनि गम्भीर घाइते भए।

भारतीय सञ्चारमाध्यमका अनुुसार मारिनेमा बिल्हौर प्रहरी अधिकृत देवेन्द्र मिश्र र एसओ शिवराजपुर महेश यादव पनि छन्।

याे पनि: भारतमा अपराधी पक्रन गएका डीएसपीसहित ८ प्रहरी मारिए

विकास दुबे जसलाई पक्रिन प्रहरीकाे टाेली गएकाे थियाे, उनीविरुद्ध अपराध गरेकाे केवल आरोप होइन, दर्जनौं मुद्दा नै दर्ता भएका छन्। राजनीतिक दलमा समेत उनकाे राम्राे पहुँच छ।

दुबेरुद्ध कानपुरको चौबेपुर प्रहरी चाैकीमा ६० वटा मुद्दा परेका छन्। जसमा हत्या/हत्या प्रयासजस्ता गम्भीर अपराधका मुद्दा छन्।

कानपुरका प्रहरी महानिरीक्षक मोहित अग्रवालले बीबीसीलाई बताएअनुसार दुबेलाई प्रक्राउ गर्न जानाको कारण पनि हत्या मुद्दा नै हाे। 

चौबेपुर प्रहरी चौकीमा मुद्दा परेका आधारमा के भन्न सकिन्छ भने विकास दुबे ३ दशकदेखि अपराधमा संलग्न छन्। त्यस क्रममा उनी धेरैपटक पक्राउ पनि परे, तर अहिलेसम्म उनलाई कुनै सजाय दिन सकिएको छैन।

कानपुरका स्थानीय पत्रकार प्रवीण माेहता भन्छन्, ‘सन् २००१ मा दुबेविरुद्ध प्रहरी चौकीभित्रै पसेर बीजेपीबाट राज्यमन्त्री सन्तोष शुक्लाको हत्या गरेको आरोप लाग्यो। उनकाे हत्या एउटा हाई प्रोफाइल हत्या थियो। यति ठूलो अपराधमा पनि प्रहरीले दुबेविरुद्ध बयान दिन सकेन। अदालतमा उनीविरुद्ध कुनै प्रमाण पेस हुन सकेन, जसले गर्दा उनी रिहा भए।’

यसबाहेक सन् २००० मा कानपुरकै शिवली थाना क्षेत्रस्थित ताराचन्द इन्टर कलेजका सहायक प्रबन्धक सिद्देश्वर पाण्डेयको हत्या प्रकरणमा पनि दुबेको नाम जोडिएको थियो।

प्रहरी चौकीमा दर्ता भएका उजुरीअनुसार सन् २०० मा पनि विकास दुबेविरुद्ध रामबाबु यादव हत्याको षड्यन्त्र रचेको आरोप लागेको थियो। बताइन्छ कि दुबेले यो योजना जेलबाटै रचेका थिए।

यस्तै सन् २००४ मा केबल व्यवसायीको हत्यामा पनि उनको नाम मुछिएको थियो। प्रहरीका अनुसार तीमध्ये कैयौं मुद्दामा दुबे जेल गए, तर धरौटीमा छुटिरहे। सन् २०१३ मा पनि दुबेविरुद्ध एक हत्याको आरोप लागेको थियो। यति मात्र होइन, सन् २०१८ मा दुबेविरुद्ध आफ्नै भान्जा अनुरागको हत्या हमला गराएको आरोप लागेकाे थियो, जसमा अनुरागकी पत्नीले उनीसहित ४ जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

कानपुरका पत्रकार मोहता भन्छन्, ‘हरेक राजनीतिक दलमा दुबेको पहुँच छ र यही कारण आजसम्म उनी पक्राउ पर्न नसकेका हुन्, पक्राउ परिहाले पनि केही दिनमै छुट्ने गरेका हुन्।’

विकास दुबे मूलतः कानपुरको बिठुरमा पर्ने शिवली थाना क्षेत्रस्थित बिकरु गाउँका हुन्। गाउँमा उनले आफ्नो घरलाई एउटा किल्ला झैं बनाएका छन्। स्थानीयका अनुसार उनको अनुमतिबिना कोही पनि उनको घरभित्र प्रवेश गर्न सक्दैनन्।

विकास दुबेकाे घर-

bikasdube2

स्थानीयको भनाइअनुसार सन् २००२ मा, जतिबेला कानपुर राज्यमा बहुजन समाज पार्टीको सरकार थियो, त्यसबेला विकास दुबेलाई तुती नामले चिनिन्थ्याे। बिकरु गाउँका एक स्थानीय नाम नबताउने सर्तमा भन्छन्, ‘त्यस समय उनले आफूलाई अपराधको दुनियाँमा स्थापित मात्र गरेनन्, पैसा पनि निकै कमाए।’

चौबेपुर चौकीमा उनीविरुद्ध दर्ता भएका सबै मुद्दा अवैध रूपमा जग्गा खरिद-बिक्रीसँग सम्बन्धित छन्। यसैकारण दुबे करोडौं सम्पत्ति जोड्न सफल भएका हुन्। बिठुरमा उनका केही स्कुल र कलेज पनि सञ्चालनमा छन्।

बिकरु गाउँका बासिन्दा भन्छन्- दुबेको दबदबा आफ्नो गाउँमा मात्र हाेइन, आसपासका गाउँमा पनि थियो। जिल्ला पञ्चायत एवं कैयौं गाउँ प्रमुखको चुनावमा विकास दुबेलाई गाउँ पञ्चायत वा प्रमुख मनपर्ने र मननपर्ने कुराले धेरै महत्त्व राख्छ। स्थानीय एक वृद्ध भन्छन्, ‘बिकरु गाउँमा पछिल्लो १५ वर्षदेखि उनका मानिस निर्विरोध गाउँ प्रमुख बनिरहेका छन् भने यस अवधिमा उनकाे परिवारका सदस्यले जिल्ला पञ्चायत सदस्यको चुनावसमेत जितिरहेका छन्।’

स्थानीय बासिन्दाका अनुसार विकास दुबेका पिता किसान हुन्। दुबेका जम्मा तीन दाजुभाइमध्ये एक जनाको करिब ८ वर्षअघि हत्या भयाे। दुबे सबैभन्दा जेठा हुन्। दुबेकी पत्नी ऋचा दुबे जिल्ला पञ्चायत सदस्य हुन्।

बकरु गाउँका एक स्थानीय नाम नबताउने सर्तमा भन्छन्, ‘प्रहरी चौकीमा दुबेविरुद्ध जित्ने नै मुद्दा दर्ता किन नहोस्, तर उनीविरुद्ध बयान दिने हिम्मत कसैले गर्दैन।’ ती स्थानीयका अनुसार सन् २००० आसपास शिवलीका तत्कालीन नगर-पञ्चायत अध्यक्ष लल्लन बाजपेयीसँग भएको विवादपछि विकास दुबे अपराधकाे दुनियाँमा प्रवेश गरेका हुन्।

गाउँलेका अनुसार विकास दुबेका २ छोरा छन्, तीमध्ये एउटा छाेरा इंग्ल्यान्डमा एमबीबीएस अध्ययनरत छन् भने अर्का छोरा कानपुरमै पढिरहेका छन्। बीबीसी हिन्दीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad