जनमत पार्टीले नागरिकता ऐन संशोधन विधेयकविरुद्ध सिरहाको औरही गाउँपालिकामा भैँसी जुलुस प्रदर्शन गरेको छ।
प्रदर्शनकारीले भैँसीको जिउमा सेतो अक्षरले नागरिकता विधेयक खारेज गर, महिलालाई हेप्न पाइँदैनजस्ता नाराहरु लेखेर प्रदर्शन गरेका हुन्।
बिहीबार बिहान भैँसीलाई गाउँ घुमाउँदै, नारा लगाउँदै सरकारविरुद्ध प्रदर्शन गरेको जनमत पार्टीका नेता दिपेन्द्र यादवले जानकारी दिए।
सिके राउत नेतृत्वको जनमत पार्टीले निरन्तर १२ दिनदेखि नागरिकता ऐन संशोधन विधेयक विरुद्ध देशका विभिन्न भागमा प्रदर्शन गर्दै आएको छ।
नागरिकता संशोधन ऐनमा तेश्रो मूलुकबाट विवाह गरी आउने नेपाली बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधान ल्याएको छ। जसको नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतले विरोध गर्दै प्रदर्शन गरिरहेका छन्।
प्रतिक्रिया