समाज


भारतबाट नेपाल छिर्‍यो सलह, कृषि मन्त्रालयले डाक्यो आकस्मिक बैठक

भारतबाट नेपाल छिर्‍यो सलह, कृषि मन्त्रालयले डाक्यो आकस्मिक बैठक

मणि दाहाल
असार १३, २०७७ शनिबार ५:२१,

भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ। बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएको कृषि मन्त्रालय स्रोतले जनाएको छ।

भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो। सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ।

‘कृषि विकासका स्थानीय अधिकारीहरुले हामीलाई सर्लाही र बारामा  सलहको  एक झुण्ड देखिएको जानकारी गराउनु भएको छ’, कृषि मन्त्रालयका एक अधिकारीले भने, ‘तर कति ठूलो समूहमा आएको हो भन्ने पूर्ण जानकारी आइसकेको छैन।’

उनले बाराको निजगढ र सर्लाहीको नवलपुर आसपास क्षेत्रमा सलहको बथान देखिएको जानकारी आएको बताए।

पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ।

सलह भारतको उत्तर प्रदेशमा आइपुगेपछि नै नेपालको कृषि मन्त्रालयले क्षति न्युनिकरण गर्न समिति गठन गरेको थियो।

सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ। नेपालमा यसले पुर्याउन सक्ने क्षतिबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको एक वर्गकिमीको समूहले ४ देखि ८ करोडसम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्।

 यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको नष्ट गर्ने वैज्ञानिकहरू बताउँछन्।

यो पनि: नेपाल फेरि सलहको जोखिममा, अफ्रिकाबाट पाकिस्तान हुँदै भारत आइपुग्यो 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .