समाज


लुट्ने प्रहरी, प्रमाण जुटाउने व्यापारी

लुट्ने प्रहरी, प्रमाण जुटाउने व्यापारी

उजिर कार्की
असार ११, २०७७ बिहिबार ११:२७,

न्युरोडमा व्यवसाय गर्दै आएका भारतीय व्यापारी विकास अग्रवाल आइतबार बेलुका घर फर्किंदै थिए।

काठमाडौं महानगरपालिका २२, न्युरोडमा क्यामेरा र मोवाइल पसल सञ्चालन गर्ने उनले लकडाउनका कारण बन्द रहेको पसल खोल्न थालेको केही दिनमात्रै भएको थियो।

आइतबार साँझ पसल बन्द गरेर उनी पैसा लिएर स्कुटरमा घर फर्किंदै थिए। भारत राजस्थान झोडवाडा थानाका अग्रवाल ताहचलमा बस्छन्। पसलबाट रकम लिएर उनी स्कुटरमा ताहचलतर्फ लागे। चोखाछें गल्लीबाट इटुम्वहालमा पुगेका मात्रै के थिए मोटरसाइकलमा आएका दुई जनाले उनलाई रोके।

मास्क लगाएका दुई जनाले उनलाई साइडमा लगे। ‘रकम भएको झोला निकाल्नुस् हामीलाई दिनुस्, नभए जे पनि हुनसक्छ’ भन्दै थर्काए। त्यसपछि उनले झोला ती व्यक्तिलाई जिम्मा लगाए। उनीहरुले झोलाबाट १० लाख रुपैयाँ निकालेर लगे।

सोमबार अग्रवालले प्रहरी अपराध महाशाखामा पुगेर निवेदन दिए। व्यापारीले नै निवेदनको साथमा सीसीटीभीको फुटेज पनि पेश गरेका थिए। सोही फुटेजका आधारमा महाशाखाको टोलीले लुटेराको पत्तो लगायो।

घटनामा संलग्न धीरेन्द्र विष्ट र बिक्रमकुमार चन्द रहेको पत्ता लाग्यो। यति मात्रै होइन उनीहरु दुवै जना प्रहरी भएको पनि तथ्य खुल्यो।

महाशाखाको टोलीले बुधबार दिउँसो धीरेन्द्रलाई टेकुबाट पक्राउ गरेको हो भने बिक्रम भने बेलुका पानीपोखरीबाट पक्राउ परे। चोरीमा प्रयोग भएको प्रदेश ३–०२–०१३ प २११३ नम्बरको कालो रातो रङको अपाचे मोटरसाइकल पनि त्यहीँ फेला प¥यो।

उनीहरुलाई चोरीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान गरी कारबाहीका लागि महाशाखाले बिहीबार महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ।

पक्राउ परेका हवल्दार धीरेन्द्र विष्ट सशस्त्र प्रहरी सेनामुख डडेल्धुरा दरबन्दी भई हाल महानगरीय प्रहरी परिसर, काठमाडौँमा कार्यरत थिए। बिक्रमकुमार चन्द महानगरीय प्रहरी कार्यालय रानीपोखरी, परिचालन कक्ष दरवन्दी हो। हाल महानगरीय सशस्त्र प्रहरी गण नं.२ मा प्रहरी जवान पदमा कार्यरत हुन्।

३२ वर्षीय बिष्टको स्थाई घर कञ्चनपुरको भीमदत्त नगरपालिका ६ हो। उनी हाल काठमाडौंको टोखा नगरपालिका ७ ग्रिनल्याण्ड बस्दै आएका छन्। २७ वर्षीय विक्रम दैलेखको डुंगेश्वर गाउँपालिका ५ का हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad