ad ad

समाज


मनसुनको शक्तिशाली नयाँ प्रणाली बन्याे, आजदेखि केही दिन लगातार वर्षाको सम्भावना

मनसुनको शक्तिशाली नयाँ प्रणाली बन्याे, आजदेखि केही दिन लगातार वर्षाको सम्भावना

नेपालखबर
असार १०, २०७७ बुधबार १:१०,

आज (बुधबार) बिहानै नेपालमा मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो (मंगलबार) सम्मको प्रणाली कमजोर हुँदै आज बिहानै नयाँ प्रणाली विकास भएको हो।

उनका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन सुरु भएको हो। यो हावा देशको पूर्वी क्षेत्रबाट भित्रिरहेको छ। जसका कारण नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय रेखा बनेको छ।

यसबारे महाशाखाले हिजै जानकारी दिएकाे छ: भोलिदेखि केही दिन ठूलाे वर्षा हुने भन्दै मौसम महाशाखाले जारी गर्‍याे विशेष माैसमी बुलेटिन

‘आजदेखि देशभर झरी पर्ने सम्भावना छ,’ बुधबार बिहान मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘विशेष गरी पूर्वका प्रदेश १ र २ मा बढी झरी पर्ने सम्भावना छ।’

मौसमविद् श्रेष्ठका अनुसार पूर्व झापा, मोरङ, सुनसरी, धनकुटालगायत आसपास क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ भने पश्चिम कास्की, जुम्ला, हुम्ला कालिकोट, सुर्खेत पनि बिहानैदेखि वर्षा भइरहेको छ। कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिम प्रदेशमा पनि बिहानैदेखि पानी परिरहेको उनले जानकारी दिए।

‘ठूलो वर्षा दुईखालको हुन्छ– एउटा थोरै समय तर ठूलो पानी पर्ने, अर्काे ठीकै खालको वर्षा तर लामो समय भइरहने,’ मौसमविद् श्रेष्ठले भने, ‘अहिले दोस्रो खालको वर्षा हुने देखिएको हो।’

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सचेत गराएको छः
देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तसर्थ ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल÷पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १० गते (बुधबार)

दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

रातीः  देशको सबै प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का थोरै स्थानमा भारी वर्षाको सम्भवना छ।

असार ११ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीः  देशको सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

असार १२ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना छ। 

रातीः  देशको सबै प्रदेशमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .