समाज


तपाईंलाई कोरोना सर्ने जोखिम कति हाेला? थाहा पाउने सजिलो विधि

तपाईंलाई कोरोना सर्ने जोखिम कति हाेला? थाहा पाउने सजिलो विधि

नेपालखबर
असार ८, २०७७ सोमबार १५:१७,

कोरोना संक्रमणको व्यक्तिगत तथा स्थानीय जोखिम मूल्यांकन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ। विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स एसोसिएसनले आइतबार एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो।

सो विधि प्रयोग गर्न डब्लुडब्लुडट कोभिरा डट इन्फो वेबसाइटमा जानुपर्नेछ। वेबसाइटमा आफ्नो तथा परिवारको व्यक्तिगत मूल्यांकन गर्न सकिन्छ भने नेपालभित्रका जुनसुकै ठाउँको जोखिम पनि हेर्न सकिन्छ। एसोसिएनका महासचिव छवि पोखरेलले यस्तो अनुसन्धानमूलक विधिले नेपाल र नेपालीलाई यो महामारीको समयमा जोखिम व्यवस्थापनमा धेरै सहयोग पुग्ने बताए।

बेलायतको हडस्र्फिल्ड विश्वविद्यालयका प्राध्यापक पदम सिङ्खडाले यस किसिमको जोखिम मूल्यांकन विधिले सरकार, समुदाय तथा व्यक्ति स्वयंलाई धेरै उपयोगी हुने बताए। अनुसन्धानमा आधारित, वैज्ञानिक तथ्य, विधि र प्रमाणका आधारमा तथ्यांक विश्लेषण गरी क्षेत्रीय तथा स्थानीय अवस्थासमेतलाई समेटेर बहुआयामिक वैज्ञानिक तथा विशेषज्ञ मिलेर बनाइएको यो नै पहिलो ‘एप्लिकेसन’ भएको दाबी गरिएको छ।

बेलायतको ब्रिस्टोल युनिभर्सिटिमा कार्यरत डा. ऋषिराम पराजुलीले यसको आधार कसरी तयार गरिएको छ भन्नेबारे प्रस्तुति दिएका थिए। यस विधिले कोभिड संक्रमण भएमा पनि उमेर, लिंग, दीर्घरोगको अवस्थाले आफ्नो जोखिम कति छ, साथै आफ्नो अन्य विविध दैनिक कार्यका आधारमा आफूलाई कोरोना सर्न सक्ने जोखिम कति छ भन्नेबारे आकलन गर्नेछ।

साइन्स हबका अनुसन्धानकर्ता तथा नेपाल खुला विश्वविद्यालयका डा. भोजराज घिमिरेले यसमा प्रयोग भएको प्रविधि, ‘डाटा’ को गोपनीयता तथा सुरक्षालगायत निकट भविष्यमा हुने परिमार्जनसम्बन्धी विषयमा जानकारी दिएका थिए। साइन्स हबले यसलाई थप व्यवस्थित गर्दै लैजाने, स्थानीय तहका विविध तथ्यांक समुदायस्तरबाटै समेत लिन सकिने तथा बहुभाषामा यो ‘एप्लिकेसन’ निर्माण गर्ने जनाइएको छ।

कोभिरा के हो र यसको प्रयोग कसरी गर्ने?
कोभिरा, हाल चलिरहेको कोरोना महामारीको जोखिम मूल्यांकन गर्ने विधि हो। यसमा कुनै पनि व्यक्तिले आफ्नाबारे सोधिएका केही प्रश्नको उत्तर दिएर आफ्नो व्यक्तिगत जोखिम मूल्यांकन गर्न सकिनेछ। यसका साथै आफू बसिरहेको क्षेत्रमा कोरोना सर्नसक्ने जोखिमको अवस्था के छ र आफूलाई सर्न सक्ने जोखिम कति छ भन्नेबारे पनि मूल्यांकन गर्नेछ। यससँगै नेपालका विभिन्न ठाउँमा विविध कारण हुनसक्ने जोखिम मूल्यांकन नक्सा पनि राखिएको छ ।

सामाजिक, आर्थिक, जनस्वास्थ्य, साथै कोरोना फैलनसक्ने जोखिमका हिसाबले कुन क्षेत्र धेरै जोखिममा छ भन्ने पनि देखाइएको छ । यसमा रहेको ‘टोटल रिस्क’ बटनमा ‘क्लिक’ गर्दा नेपालको क्षेत्रगत संयुक्त जोखिम देखाउने छ । कोभिड–१९ को दैनिक अपडेटपश्चात क्षेत्रगत जोखिम परिवर्तन हुनेछन् । यसबाट दैनिक रूपमा जोखिम नक्सा हेर्न सकिनेछ।

व्यक्तिगत जोखिम मूल्यांकन विधि चीन, इटाली, जर्मनी, स्पेन, बेलायत तथा अमेरिकाका मृत्यु भएका करिब ६० हजार व्यक्तिको तथ्याङ्कलाई केलाएर बनाइएको हो । व्यक्तिगत जोखिम व्यक्तिको उमेर तथा दीर्घ रोगमा आधारित छ भने सर्नसक्ने जोखिम, स्थानीयस्तरमा कोरोना सर्ने जोखिम तथा व्यक्तिको आफ्ना क्रियाकलापमा निर्भर गर्छ।

यसले जोखिमलाई पाँच तहमा देखाउँछ, अति न्यून, न्यून, मध्यम, उच्च र अति उच्च। बीचमा रहेको सुईले जुन भागमा देखाउँछ, त्यो नै जोखिमको स्तर हुनेछ। कुन अवस्थामा के गर्ने भन्ने सुझाव पनि यसले देखाउनेछ। नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले वेवनारमार्फत सो ‘एप्लिकेसन’ सार्वजनिक गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad