समाज


पहिलो चरणमै भारतको जयनगरदेखि महोत्तरीको भंगहासम्म गुड्ने भयो रेल

पहिलो चरणमै भारतको जयनगरदेखि महोत्तरीको भंगहासम्म गुड्ने भयो रेल

शैलेन्द्र महतो
असार ७, २०७७ आइतबार ४:५३,

जनकपुर -जयनगर रेल सेवा सञ्चालनमा कोरोना भाइरसको महामारी बाधक बनेको छ।

सरकारले असार मसान्तभित्रै रेल सेवा सञ्चालन गर्ने तयारी गरेको थियो। तर, कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउनको कारण रेल सञ्चालन गर्न ढिलाइ भइरहेको नेपाल रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

पहिलो चरणमा भारत बिहारको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेला सेवा सञ्चालन गर्ने तयारी थियो। त्यसको लागि लिक र भौतिक पूर्वाधार पूर्ण रुपमा तयारी अवस्थामा छ।

rel 2

जनकपुरदेखि बर्दिबाससम्म रेल सञ्चालनको निम्ति रेल विभागले भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडसँग रेल किन्ने सम्झौता गरेको छ। सोही सम्झौता अनुसार दुई सेट रेलसमेत निर्माण भइसकेको छ।

भारतको मद्रासस्थित कोकण रेलवेज कर्पोरेसन कम्पनीमा निर्माण भइसकेको दुईसेट रेल रंगरोगण गरी ल्याएर बिहारको पटना नजिकै सुरक्षितसाथ राखिएको रेल्वे विभागले जनाएको छ।

‘भारतसँग किनेको दुईसेट रेल पटना नजिकै सुरक्षितसाथ राखिएको छ। असार मसान्त भित्रै जयनगरदेखि जनकपुरको कुर्थासम्म दुइसेट रेल सञ्चालन गर्ने हाम्रो तयारी थियो,’ मिश्रले नेपालखबरसँग भने, ‘तर बन्दाबन्दीको कारण कर्मचारी व्यवस्थापन हुन नसक्दा ढिलाई हुने भयो। रेल यहाँ ल्यायौं राख्न ठाउँकै अभाव छ। त्यसैले सुरक्षित रुपमा उतै राखेका छौँ। अब लकडाउन हटेपछि नेपाल रेल्वे कम्पनीले कम्तिमा दुईसय कर्मचारी भर्ना गरी रेलसेवा सञ्चालन गर्ने छ।’

उनले अब जयनगरदेखि जनकपुरको कुर्थासम्म मात्र नभई दोश्रो चरणमा सञ्चालन गर्ने भनिएको महोत्तरीको भंगहा (साविकको विजलपुरा स्टेशन) सम्म नै रेल सञ्चालन हुने जानकारी दिए।

जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम धमाधम भइरहेको छ।

रेल्वे विभागका सव ईन्जिनियर विनोद ओझाले कुर्थादेखि भंगहासम्म १७ किलोमिटर मध्ये १० किलोमिटरभन्दा बढीमा लिक बिच्छ्याएर गिट्टी हालिसकेको जानकारी दिए। ‘अब ६.७ किलोमिटरमा लिक बिछ्याउने र भौतिक संचना निर्माणको काम गर्दै छौँ। केहि महिना भित्रै त्यस क्षेत्रमा पनि रेल सञ्चालनको लागि पूर्ण संरचना तयार हुन्छ।’

janakpur bijalpura section ma kam rail track nirman hudai 2.jpg .2020 06 09 1

रेल सेवा सञ्चालनका लागि लकडाउन हुनुअघि नै कर्मचारी भर्नाका लागि नेपाल रेल्वे कम्पनीले सूचना निकालेको थियो। तर कर्मचारी भर्नाका लागि दरखास्त दिने व्यक्ति नेपाली र रेलमा काम गरेको अनुभवी हुनुपर्ने बाञ्छनीय योग्यता राखेको कारण एकजनाले पनि दरखास्त दिएनन्।

अब तीनवटा बिकल्पसहित कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने तयारी भइरहेको विभागका निर्देशक मिश्रको भनाइ छ।

‘कर्मचारी भर्नाको पहिलो विकल्प भारत सरकार अथवा कुनै एजेन्सीबाट रेल चलाउने कर्मचारी केही समयको लागि लिने, दोश्रो रेलमा काम गरेका रिटायर अनुभवी केहि कर्मचारी केही समयको लागि राख्ने र तेश्रो विकल्प भारतको रेल्वेमा कार्यरत नेपाली कामदार केही समयको लागि लिने र यहाँका नेपालीलाई सिकाउने विकल्पमा हामी छलफल गरिरहेका छौँ,’ महानिर्देशक मिश्रले भने।

जयनगरदेखि बर्दिवाससम्म ६९ किलोमिटर लम्बाइको रेल्वे मार्ग ३ खण्डमा बनिरहेको छ। परियोजनाको प्रथम खण्ड जयनगर-कुर्था ३५ किलोमिटर, दोस्रो खण्ड अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो खण्ड महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन गर्ने सरकारको योजना छ।

104452292 742933506511685 6512460075934817429 n

जस अन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयारी अवस्थामा छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ।

भारतको जयनगर-जनकपुर तथा जनकपुरदेखि महोत्तरीको बिजुलपुरा हुँदै बर्दिवाससम्म ६९ किलोमिटर पर्छ। जसमध्ये जयनगरदेखि नेपाली सीमा इनरुवासम्म ३ किलोमिटर भारतीय भूमि रहेको छ। भारत सरकारको सहयोगमा निर्माण भइरहेको भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का भारतीय इर्कन इन्टरनेसनल कम्पनीले लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad