वर्षाले कालीगण्डकी करिडोरअन्तर्गत पर्ने पाल्पाको रामपुर नगरपालिका -१० स्थित पाँच सय खोलाको निर्माणाधीन पुलमा क्षति पुगेको छ।
दुई दिनदेखिको वर्षाले खोलामा पानीको बहाव बढेपछि शुक्रबार निर्माण सामग्री बगाउँदा करीब ६५ लाख बराबरको क्षति पुगेको आयोजनाले जनाएको छ।
आज ढलान गर्ने तयारी गरी कामलाई तीव्रता दिइरहेका बेला बाढीले सेटिङ नै बगाएपछि ठूलो क्षति पुगेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका सहायक सुपरभाइजर दामोदर भण्डारीले बताए।
वर्षायाम अगावै ढलानको काम सक्ने भनिए पनि खोलामा पानीको बहाब बढ्न थालेपछि समयमा नै काम सम्पन्न गर्न समस्या हुने उनले बताए। वर्षायाम शुुरु भएकाले अब दशैँतिहार अगावै पुल सञ्चालन गर्न समस्या हुने भण्डारीको भनाई छ।
तीन करोड ६० लाखको लागतमा निर्माण हुन लागेको पुल आर्थिक वर्ष २०७३/०७४ मा सम्झौता भई २०७५ मङ्सिर अन्तिमदेखि निर्माण शुरु गरिएको हो। रासस

प्रतिक्रिया