समाज


जहाँ प्राकृतिक विधिबाट कोरोना संक्रमितको उपचार भइरहेकाे छ

जहाँ प्राकृतिक विधिबाट कोरोना संक्रमितको उपचार भइरहेकाे छ

टेकराज पोखरेल
असार ५, २०७७ शुक्रबार ४:५२,

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को देवचुली नगरपालिकामा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार गरिरहेको छ।

जिल्लाकै पहिलो कोरोना अस्पतालका रूपमा सेवा प्रदान गरेको चिकित्सालयले नेपालमै पहिलोपटक प्राकृतिक चिकित्सा विधिबाट कोरोना संक्रमितको उपचार थालेको हो।

हाल अस्पतालमा जिल्लाभरिका ८७ जना कोरोना संक्रमितले उपचार गराइरहेका अस्पतालका निर्देशक डाक्टर विनोद पौडेलले जानकारी दिए। ‘प्राकृतिक चिकित्सा विधिबाट ५६ जना कोरोना संक्रमितले उपचार गराइरहेकामा बिहीबार ३१ बिरामी थपिएका छन्,’ पौडेलले भने।

स्वस्थ खानेकुरा खान दिएर छिटो रोग प्रतिरोधात्मक क्षमता बढाउँदै संक्रमितलाई स्वस्थ बनाउन प्राकृतिक उपचार विधिको महत्वपूर्ण भूमिका रहेको उनले बताए। संक्रमित व्यक्तिलाई मानसिक रूपमा स्वस्थ राख्न पर्याप्त भौतिक दूरी कायम गरी योग, मेडिटेसन पनि गराइरहेको उनले जानकारी दिए।

‘प्राकृतिक चिकित्सा विधिबाट उपचार गरिएकाले बिरामीमा जटिलता आएको छैन, संक्रमित खराब अवस्थामा पुगेका छैनन्,’ उनले भने।

खानाबारे बुझाएपछि बिरामी आफैंले माछामासु खान मन नगरेको उल्लेख गर्दै सबैलाई सन्तुलित आहार प्रदान गरिएको निर्देशक डा. पौडेलले जानकारी दिए। अस्पताल आएका सङ्क्रमितका लागि कोदो तथा फापरको रोटी, फलफूल, भिजाएको गेडागुडी, खजुरलगायत खाद्य वस्तु नियमित सेवन गराइएको उनले बताए।

शक्ति प्रदायक भोजनले संक्रमितलाई गम्भीर अवस्थामा पुग्न नदिने, छिटो संक्रमणमुक्त बनाउने तथा समुदायमा फैलिनबाट रोकथाम गर्ने पौडेलले बताए।

कोरोना संक्रमित व्यक्ति अस्पतालमा पुगेपछि प्राकृतिक उपचार पद्धतिका कारण बिस्तारै निको हुँदै गएका उनको भनाइ छ। सय शयाको आइसोलेसन अस्पतालले हाल १०० शयाको आइसोलेसन निर्माण गरेर कोरोना संक्रमितको उपचार गरिरहेको छ।

जिल्लामा संक्रमित थपिँदै गएपछि बिहीबार क्षमता बढाएर १ सय २० शया पुर्‍याइएकाे छ। प्राकृतिक चिकित्सालयमा कोरोना संक्रमित बिरामीको उपचार गर्न ४ सय ५० शैया निर्माण गर्नसक्ने क्षमता रहेको निर्देशक पौडेलले जानकारी दिए। अस्पतालमा सघन उपचार कक्ष भने निर्माण गरिएको छैन। आर्थिक अभावका कारण सघन उपचार कक्ष निर्माणमा समस्या भएको पौडेलले बताए।

गम्भीर अवस्थाका बिरामीलाई चितवन तथा पोखरा पठाउने तयारी भए पनि हालसम्म एक जनाबाहेक अन्य बिरामीलाई अस्पतालले रिफर गरेको छैन।

हालकै अवस्थामा १०० भन्दा बढी संक्रमितकाे उपचार गर्न कठिनाइ रहेको अस्पतालका निर्देशक पाैडेलले बताए। उनका अनुसार संक्रमित थपिएको अवस्थामा सीसीक्यामेरा, तरकारी राख्न डिफ्रिज, भर्‍याङलगायत पूर्वाधार आवश्यक छन्।

चिकित्सालयमा कोरोना अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारबाट १० लाख तथा जिल्लाका आठवटै स्थानीय तहबाट ६० लाख मात्रै बजेट आएको पौडेलले जानकारी दिए। संक्रमित बढ्दै जाँदा थप बजेटको आवश्यकता पर्ने भएकाले आफूहरूले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा कुरा गरिरहेको उनले बताए।

‘संक्रमितको उपचारका लागि सामाजिक विकासमन्त्री नरदेवी पुनले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ,’ उनले भने, ‘अस्पतालको निरीक्षणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको टोलीसमेत यहाँ आउने तयारी छ।’
हाल अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य गरी १५ कर्मचारी छन्।

अस्पतालमा ३ चिकित्सक मध्यबिन्दु जिल्ला अस्पताल डण्डाबाट तथा २ स्वास्थ्यकर्मी जिल्लाका स्थानीय तहबाट खटाइएको छ। अस्पताल सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८ सुरक्षाकर्मी परिचालन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad