समाज


कोरोना संक्रमितहरु रोपाइँमा व्यस्त !

कोरोना संक्रमितहरु रोपाइँमा व्यस्त !

विमलबहादुर विष्ट
असार ३, २०७७ बुधबार ४:४३,

डोटीको शिखर नगरपालिका-३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरु खुलेआमरूपमा गाउँघरमा घुम्ने गरेका छन्।

गाउँघरमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही छैनन्। गाउँमा सुरक्षाकर्मी नभएका कारण उनीहरु घरको कामदेखि धान रोपाइँको काममासमेत व्यस्त हुने गरेको पाइएको छ। भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका शिखर ३ का १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

गत जेठ २० गते आलीअतुराली क्वारेन्टिनमा राखिएका २८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालमा पठाएको थियो। मङ्गलबार जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरको संयोजगत्वमा उक्त वडामा पत्रकारसहित गएको अनुगमनका क्रममा कोरोना सङ्क्रमित खुलेआम रुपमा गाउँघरमा घुमिरहेको पाइएको थियो।

कोरोना परीक्षणका लागि स्वाब पठाइएकामध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिषबहादुर शाहले जानकारी दिए।

‘आलीअतुराली क्वारेन्टिनमा बसेका २८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालमा पठायौँ, जसमा १४ जनाको नतिजा पोजेटिभ आएको छ, सबै आफ्नो घर गएपछि नतिजा आयो, अहिले समस्या भयो,’ शाहले भने।

पिसीआरको नतिजा नआउँदै आफूहरुलाई होम क्वारेन्टिनमा रहने गरी घर पठाएका एक कोरोना सङ्क्रमितले बताए। ‘कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, हामीलाई होम क्वारेन्टिनमा बस्नु भनेर घर पठाइयो, अहिले कोरोना पोजेटिभ आयो, हामी पनि चिन्तित छौँ,’ उनले भने।

घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै स्थानीयवासीमा त्रास फैलिएको स्थानीय बलबहादुर बोगटीले बताए। ‘कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिन बसेकालाई घर पठाए, अहिले १४ जना सङ्क्रमण भएको रिपोर्ट आयो, कसरी गाउँमा जोगिने भन्ने चिन्ता बढेको छ,’ बोगटीले भने।

कोरोना सङ्क्रमण भएकाहरु खुलेआम गाउँघरमा घुमिरहेका कारण अन्यमा पनि कोरोना सर्ने भन्दै स्थानीयवासीमा त्रास उत्पन्न भएको छ।

गएको जेठ १९ गते पहिलोपटक सो वडाका २५ वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो। उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए। त्यसअघि ११ गते गौरिफन्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले बनाएको क्वारेन्टिनमा थिए।

१६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

छोरा र श्रीमतीमा भने दुईपटकसम्म जाँच गर्दा पनि कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । ती युवकमा सङ्क्रमण पुष्टि भएसँगै एउटै क्वारेन्टिनमा बसेका ३१ जना अन्यको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा जेठ २० गते ‘थ्रोट स्वाब’ सङ्कलन भएको थियो।

उनीहरुमध्ये १४ जनामा कोरोना पुष्टि भएको रिपोर्ट आएको हो। ढिलोगरी परीक्षणको नतिजा आउँदा सङ्क्रमित पाईएकाहरु सबै घर–घर पुगिसकेका छन्। पहिलो सङ्क्रमितलाई कुनैपनि लक्षण नदेखिएकोले १४ दिन आइसोलेसनमा राखेपछि जिल्ला अस्पतालले जेठ २९ गते नै डिस्चार्ज गरेको थियो । सरकारको ‘आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेको जनाएको थियो।

सोहीअनुसार उनको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा स्वाब सङ्कलन गरी पठाइएकाहरुको नतिजा आउनुअगावै सबै जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ।

‘समयमा नतिजा आएको भए पनि उनीहरुको डिस्चार्ज हुने समय भोलि हुने थियो’, स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, ‘ढिलो रिपोर्ट आयो, अहिले समस्या भयो, पोजेटिभलाई अझै केही दिन ‘होम आइसोलेसनमा राखिने छ।’

पछिल्लो समय डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३७ पुगेको छ। तीमध्ये तीन जनालाई सरकारको मापदण्डअनुसार १४ दिन आइसोलेसनमा राखेर कुनै लक्षण नभेटिएपछि डिस्चार्ज गरिएको छ भने अन्यलाई घरकै होम आइसोलेलसनमा रहने गरी घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad