ad ad

समाज


‘रुकुम हत्याकण्ड : मूलकारण जातीय विभेद, हत्या योजनावद्ध’

‘रुकुम हत्याकण्ड : मूलकारण जातीय विभेद, हत्या योजनावद्ध’

नेपालखबर
असार २, २०७७ मंगलबार ९:३०,

पश्चिम रुकुमको चौरजाहारी हत्याकाण्डको पृष्ठभूमिको मूलकारण जातीय विभेद नै रहेको निष्कर्ष अधिकारकर्मीहरुले निकालेका छन्।

रुकुम पश्चिमको सोतीमा प्रेमिका भगाउन गएका नवराज विकसहित ६ जनाको ज्यान जानेगरी भएको घटनाको दलित अधिकारकर्मी पहलमा स्वतन्त्र लेखक, पत्रकार, अभियन्ता, अधिकारकर्मी र अधिवक्तासहित सात जनाको टोलीले गरेको विस्तृत स्थलगत अध्ययन प्रतिवेदनमा सो घटनाको मूल कारण जातीय विभेद नै भएको निष्कर्ष निकालिएको छ।

उक्त क्षेत्रमा माओवादी जनयुद्धका क्रममा जातीय छुवाछुत र भेदवाव केही कम भए पनि अहिलेसम्म दलित–गैरदलितबीच जातकै आधारमा विभेद र छुवाछुत कायमै देखिएको प्रतिवेदनमा उल्लेख छ।

गैरदलित समूहले आफूलाई ठूलाठालु र दलितलाई हेलाहोचो गर्ने परिपार्टी कायम रहेकै कारण सुष्मा मल्ल र  नवराज विकको विवाह हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

'भेदभावयुक्त सामाजिक संरचना र त्यसले निर्माण गरेको जातवादी चेतना तथा अहंकारका कारण मल्ल ठकुरी समुदायका सुष्मा मल्लको परिवार र उनका छिमेकीले दलित समुदायका नवराज विकसँग आफ्नी छोरीको प्रेमलाई विवाहमा परिणत हुन नदिन पटकपटक जबर्जस्ती कोशिस गरेको देखिन्छ’, प्रतिवेदनको निष्कर्षमा भनिएको छ, ‘२०७७ जेठ १० गते भएको नरसंहारको पृष्ठभूमिमा पनि मूल कारक जातीय विभेद रहेको देखिन्छ।’

नवराजको परिवारभित्र पनि जातकै आधारमा भावी वैवाहिक सम्बन्धमा असर पर्न सक्नेबारे पटकपटक छलफल भएको र सुष्मा मल्लको परिवारले स्थानीय जनप्रतिनिधि (वडाअध्यक्ष) र प्रहरीको सहयोगमा सम्बन्धलाई निष्फल पार्न पटकपटक कोशिस गरेको देखिएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ।

नवराज र सुष्माको प्रेमसम्बन्धका बारेमा दुवैतर्फका र प्रहरी प्रशासनसमेत जानकार रहेको र उनीहरुको प्रेमलाई छुटाउन यसअघिदेखि नै प्रयास हुँदै आएको पाइए र पछिल्लो घटना आकास्मिक र भवितव्य नभई योजनावद्ध रुपमा भएको सो अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

‘घटना हुँदा नवराजलगायतका किशोरहरू निहत्था हुनु, उनीहरूका तर्फबाट कुनै किसिमको आक्रामक बोली वा व्यवहार भएको नदेखिनु तर आक्रमणकारीहरू एकैचोटि भेला भएर लखेट्नु, चारैतिर घेरा हाल्नु, वडाअध्यक्षले नै प्रहरीलाई खबर दिनु, आक्रमणकारीमध्ये कसैलाई पनि चोटपटकसम्म नलाग्नुजस्ता तथ्यहरूले यस हत्याकाण्ड योजनाबद्ध थियो भन्ने पुष्टि गर्छ’, सो प्रतिवेदनमा भनिएको छ, ‘नवराज र सुष्माको प्रेम सम्बन्ध र दुई परिवारबीचका संवाद र विवादबारे प्रहरी प्रशासन पहिल्यै जानकार रहेका कारण यो जेठ १० गते अचानक भएको दुर्घटना थिएन।’

जेठ १० गते प्रेमिका भगाउनका लागि रुकुम पश्चिमको चौरजहारी पुगेका जाजरकोटका नवराज विक र टिकाराम सुनार, गणेश बुढामगर, लोकेन्द्र सुनार, सञ्जु विक र गोविन्द शाहीलाई हत्या गरी भेरी नदीमा फालिएको थियो। 

जेबी विश्वकर्मा (लेखक), मोहन साशंकर (अधिवक्ता), युग पाठक (लेखक), राम नेपाली (अधिकारकर्मी), विजय विश्वकर्मा (अधिकारकर्मी), शुष्मा बराली (पत्रकार), र संगीत (लेखक) को टोलीले यही जेठ २३–२७ जाजरकोट, रुकुम (पश्चिम) पुगी घटनाको स्थलगत अध्ययन गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .