तीन दिनदेखि लगातार भएको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव तीन लाख ७१ हजार एक सय १० क्युसेक पुगेको छ।
पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको छ।
पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खुला भएको सशस्त्र प्रहरी बल भण्टावारीका प्रहरी निरिक्षक सुरेन्द्र भण्डारीले जानाकारी दिए।
सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
सप्तकोशी व्यारेजको क्षमता नौ लाख क्यूसेक भए पनि बालुवाले भरिँदा डेढ लाख क्सुके पानीमै खतराको संकेत देखाउने गरिएको छ।
भारतको बिहार जलमग्न भएपछि भारतले शनिबार दिउँसो ढोका बन्द गर्न दबाब दिइरहेको थियो।
तर पूर्वी पहाडी जिल्लामा वर्षा निरन्तर जारी रहेकाले कन्ट्रोल रुमले ब्यारेजका सबै ढोका खुला गरेको भण्डारीले बताए।
नदीमा पानी बढ्न थालेपछि ब्यारेजमा २४ सै घण्टा प्राविधिकसहितका कर्मचारी तैनाथ गरिएको छ।
एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो । बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन्।
बाढीले पुलको बिम छुन लाग्ने अवस्थामा पुलको ढोका खोल्ने गरिन्छ।
शनिबार प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए।

प्रतिक्रिया