ad ad

समाज


नेपालीका शव ७२ घण्टाभित्र स्वदेश लैजान साउदीको ताकेता

नेपालीका शव ७२ घण्टाभित्र स्वदेश लैजान साउदीको ताकेता

नेपालखबर
जेठ २६, २०७७ सोमबार १०:३५,

साउदी सरकारले त्यहाँ मृत्यु भएका नेपालीहरुका शव तत्काल स्वदेश लैजान पत्राचार गरेको छ।

साउदीस्थित नेपाली दूतावासलाई त्यहाँको विदेश मन्त्रालयले पत्र पठाउँदै कोरोना संक्रमण वा अन्य कारणबाट ज्यान गुमाएका नेपालीका शव तत्काल लैजान समय तोकेरै पत्राचार गरेको हो।

कोरोना संक्रमणका कारण ज्यान गुमाएका नेपालीका सबै शव ७२ घण्टा र अन्य कारणबाट ज्यान गुमाएकाको शव १४ दिन भित्रमा आफ्नै देश लैजान भनेको छ।

यदि यो अवधिमा शव नउठाए त्यहीँ अन्त्येष्टि गरिदिने दूतावासलाई जानकारी गराएको छ।

यस्तो अवस्था कोरोना संक्रमणका कारण सिर्जना भएको र यो व्यवस्था अस्थाई रुपमा गरिएको साउदीले नेपाली पक्षलाई भनेको छ।

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा साउदीबाट झण्डै तीन महिनादेखि नेपालीको शव ल्याउन सकिएको छैन। कोरोना र अन्य कारणबाट ज्यान गुमाएका नेपालीको संख्या दिनदिनै बढिरहेको छ।

साउदीमा ७५ नेपालीको शव रहेको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्र प्रसाद सिंह राजपुतले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख गरेका छन्। यीमध्ये केही शव साउदीमै अन्त्येष्टि गर्न परिवारले लिखित सहमती दिएका छन्।

वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार शुक्रबारसम्म साउदीमा ९ जना नेपाली नागरिकको कोरोनाका कारण ज्यान गएको छ।

हालसम्म ७ वटा शव साउदीमै अन्त्येष्टि गर्न कागजात जारी गरिसकिएको र अन्य शव कि तत्काल स्वदेश लैजानुपर्ने वा परिवारको सहमति लिएर साउदीमै अन्त्येष्टि गर्नुपर्ने दूतावासले जनाएको छ।

सरकारले विदेशमा अलपत्र नेपालीलाई फर्काउने तयारी गरिरहेको भन्दै ती उडानमा सहमति नदिएका परिवारका आफन्तको शव पनि पठाउनु पर्ने राजदूत राजपुतले उल्लेख गरेका छन्।

तर मृतक नेपालीको कम्पनीसँगको हिसाव किताव सुनिश्चित गर्न समस्या भइरहेको दूतावासले जनाएको छ।

‘यहाँका सरकारी कार्यालयहरु लामो समयदेखि बन्द भएका हुँदा अधिकांश मृतकले पाउनु पर्ने बाँकी बक्यौताको हिसाव समेत प्राप्त गर्न सकिएको छैन। धेरै कम्पनीले मृतकले पाउनु पर्ने सुविधा लगायत हिसावको अनुमानित रकम राजदूतावासको खातामा राखिदिने र पछि कार्यालयहरु खुलेपछि पाउनु पर्ने हिसाव मिलाउने प्रतिबद्धता समेत जनाएका छन्। सबैबाट यो प्रतिबद्धता लिने प्रयास भइरहेको छ,’ दूतावासको पत्रमा उल्लेख छ।

साउदी सरकारले इदपछि सरकारी कार्यालयहरु खुल्ने तर जुन २० सम्म कार्यालयहरुमा सेवाग्राहीको भौतिक उपस्थिति नहुने निर्णय गरेको थियो।

तर पछिल्ला दिनमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले आइतबारबाट पुनः कर्मचारीहरु कार्यालयमा उपस्थित हुन नपर्ने निर्णय गरेको छ।

जुन निर्णयका कारण मृतकलाई रोजगारदाता कम्पनीले दिनुपर्ने बाँकी हिसाव किताव तत्काल उपलब्ध गराउन सक्ने अवस्था नरहेको दूतावासले जनाएको छ।

साउदीको ताकेतापछि राजदूतले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई शव तत्काल स्वदेश ल्याउने पहल गरिदिन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .