समाज


कोरोनाविरुद्ध खट्दाखट्दै स्याङ्जाकाे गल्याङ नगरका स्वास्थ्य प्रमुखले किन गरे ‘आत्महत्या’?

कोरोनाविरुद्ध खट्दाखट्दै स्याङ्जाकाे गल्याङ नगरका स्वास्थ्य प्रमुखले किन गरे ‘आत्महत्या’?

नेपालखबर
जेठ २६, २०७७ सोमबार ७:३२,

कोरोना महामारी नियन्त्रणमा खटिरहेका स्याङ्जाको गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख लीलाबल्लभ भण्डारी आइतबार साँझ अचानक रूखमा झुन्डिएको अवस्थामा मृत भेटिएपछि उनको परिवार मात्रै होइन, यतिबेला सिंगो नगरपालिका नै स्तब्ध भएको छ।

स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानले उनी आफैैंले डोरीको पासो लगाएर आत्महत्या गरेको देखिएको छ। तर पनि त्यसको आधिकारिक पुष्टिका लागि पोस्टमार्टम रिपोर्ट आदिको अध्ययन गरिनेछ।

स्थानीयले आइतबार साँझ ५ः४५ बजे प्रहरीलाई खबर गरेका थिए। त्यसपछि वालिङ इलाका प्रहरी कार्यालका प्रहरी निरीक्षकको टोली पुग्दा उनी उनकै घरदेखि केही सय मिटर परको राङसिङ जातको रूखमा डोरीकाे पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका थिए।

‘पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाइसकेका छौं,’ डीएसपी अधिकारीले सोमबार दिउँसो नेपालखबरसँग भने, ‘रिपोर्टचाहिँ आइसकेको छैन।’

तर अहिलेसम्म त्यस्तो अन्य खालको कुनै शंका गर्ने ठाउँ नदेखिएको उनले बताए। ‘तैपनि पूरा अनुसन्धान नगरी अहिले नै यही हो भनेर ठोकुवा त गर्न मिलेन,’ डीएसपी अधिकारीले भने।

यस्तो थियो घटना
गल्याङ नगर स्वास्थ्य कार्यालयका प्रमुख ४६ वर्षीय लीलाबल्लभ भण्डारीको घर गल्याङ नगरपालिकाकै वडा नम्बर २, बटुवा भन्ने ठाउँमा पर्छ।

त्यही वडाका अध्यक्ष इबप्रसाद कर्माचार्यका अनुसार स्वास्थ्य प्रमुख भण्डारी अन्य दिनभन्दा त्यसदिन घरबाट बिहानै निस्किएका थिए, अफिस जान्छु भन्दै। ।

आइतबार बिहान साढे ७ बजे नै निस्किएका उनी अन्य बेला घरभन्दा केही तल राख्ने गरेको मोटरसाइकल चढेर कार्यालय जान्थे। तर त्यस दिन मोटरसाइकलबिनै हतारिँदै हिँडेको देखेपछि एक जना स्थानीय भाइले आज यति चाँडै कता हिँडनुभएको भनेर सोधे। उत्तमा उनले आज त्यस्तै काम परेको भनेका थिए। 

तर उनी साँझसम्म घर नफर्किएपछि सोधीखोजी सुरु भयो। फाेन गर्दा उनकाे माेबाइल स्वीचअफ थियाे।सम्भावित सबै ठाउँमा सोध्ने/खोज्ने काम भयो तर उनी पत्ता लागेनन्। अन्त्यमा केही उपाय नलागेपछि सबै गाउँले मिलेर घरकै वरपर खोजी सुरु गरियो। यही क्रममा साँझ ५ बजेतिर उनी आफ्नै घरदेखि २ सय मिटरजति तलको एउटा रूखमा डोरी लगाउर झुन्डिएको अवस्थामा फेला परे।

उनले बोक्ने गरेको ब्याग भुइँमा थियो भने मोबाइल, कागजातसहितका पर्स उनको गोजीमै भेटिए।

‘तर उनी मर्नुपर्ने कारण लेखिएको कुनै कागजात भेटिएन,’ सोमबार दिउँसो नेपालखबरसँग कुरा गर्दै वडाध्यक्ष कर्माचार्यले भने, ‘उहाँले किन आत्महत्या गर्नुभयो, हामी स्तब्ध छौं।’

वडाध्यक्ष कर्माचार्यका अनुसार उनको घरपरिवारमा पनि त्यस्तो कुनै बेमेल वा झैझगडाको अवस्था थिएन। ‘त्यस्तो मर्नुपर्ने कुनै कारण नै देखिँदैन,’ उनले भने, ‘उहाँले एक-डेढ वर्षदेमि राजीनामा गरेर शाखामा जाुनपर्‍याेचाहिँ भन्ने गर्नुभाथ्यो।’

‘खै कता कता क्वारेन्टिनमा बसेका एक जना भाइले धम्की दिएको थियो भनेर पनि उनको परिवारबाट सुनिएको छ,’ उनले भने, ‘तर त्यसको पनि समाधान हुन्थ्यो, मर्नैपर्ने त देखिन्न।’

भण्डारीको घरमा बुबा, आमा, श्रीमती र दुई छोरा छन्। दाजु, भाउजुचाहिँ काठमाडौं बस्ने गर्छन्। तर उनको मृत्युपछि अहिले घर पुगेका छन्।

‘उहाँ नाइलनको नाम्लोमा झुन्डिएको अवस्थामा फेला पर्नुभएको हो,’ वडाध्यक्ष कर्माचार्यले भने, ‘सायद उहाँले झोलामा नाम्लो लुकाएर लानुभएको रहेछ।’

वडाध्यक्ष कर्माचार्यले पनि आत्महत्याबोहक अन्य शंका गर्ने अवस्था नदेखिएको बताए।

‘अरूलाई स्वास्थ्य सल्लाह दिँदै हिँड्ने मान्छे आफैंचाहिँ गलत बाटोमा हिँडिरहेका रहेछन्,’ उनले भने, ‘यसबाट गलत सन्देश गएको छ।’

वडाध्यक्ष कर्माचार्यका अनुसार एक महिना अघिसम्म नगरपालिकामा उनकै नेतृत्वमा कोरोना संक्रमण नियन्त्रणको काम भइरहेको थियो। तर एक महिनायता उपमेयरको नेतृत्वमा ६ सदस्यीय कार्यदल बनाएर यो काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad