नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोरोना संक्रमितको उपचारमा औषधिको रुपमा जेठी मधुको परीक्षण गर्ने भएको छ। दम, खोकी, तथा पेटका रोग निको पार्न विभिन्न औषधिमा जेठी मधुको प्रयोग हुने गरेको छ।
‘एन्टी भाइरल’को रुपमा विदेशमा पनि जेठी मधुको प्रयोग गर्दा त्यसको राम्रो परिणाम देखिएकाले नेपालमा कोरोना संक्रमितको उपचारमा यसको प्रयोग गर्न लागिएको परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए।
‘भारत र चीनमा यसको प्रयोग भएको र राम्रो परिणाम पनि देखाएको छ। त्यसैले हामीले पनि यसलाई किन प्रयोग नगर्ने भन्ने विषय आयो,’ डा. ज्ञवालीले भने, ‘यसले संक्रमितमा लक्षणहरुलाई कति घटाउँछ, मृत्युदरलाई घटाउँछ की घटाउँदैनजस्ता पक्षहरुलाई हामी हेर्नेछौँ।’
यस विषयमा आइतबार पनि पदाधिकारीहरुबीच छलफल भएको छ।
अनुसन्धानमा जेठी मधु लिनुअघि र पछि संक्रमितको शरीरमा उत्पन्न हुने एन्टिबडीमा कस्तो फरक देखियो भनेर अध्ययन गरिने डा. ज्ञवालीले बताए।
यो अनुसन्धानलाई परिषदको एथिकल कमिटीले स्वीकृति दिने अन्तिम चरणमा छ। परिषदको अनुसन्धान विभागका प्रमुख मेघनाथ धिमालले जेठी मधुसहित अन्य विभिन्न जडिबुटी मिश्रित चिया कोरोना संक्रमितलाई खुवाउने तयारी भएको बताए।
‘परिषदको नेतृत्वमा हुने यो अनुसन्धानमा विभिन्न क्षेत्रका विज्ञहरुको सहभागिता रहने छ,’ धिमालले भने, ‘यो एथिकल कमिटीमा पुगेको छ। त्यहाँबाट स्वीकृत भएर चाँडै नै यो विषयलाई अनुसन्धानमा लैजाने तयारी छ।’
प्रदेश ५ का जनस्वास्थ्य अधिकृत तथा आयुर्वेदका चिकित्सक राजेन्द्र गिरीले जेठी मधु मिसाएको औषधि श्वासप्रश्वास, रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउनका लागि प्रयोग हुने गरेको बताए।
‘परिषदले त्यसै विषयलाई ध्यान दिएर संक्रमितमा यो विषय प्रयोगमा गर्ने निर्णय गरेको हुनसक्छ,’ डा.गिरीले भने।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले चीनमा कोरोना संक्रमितको उपचारमा जेठी मधु प्रयोग गरेर अध्ययन भएको बताए।
‘एउटा पेपर प्रकाशित भएको भेटेको छु। तर, हामीले बुझ्नु पर्ने कुरा के हो भने आयुर्वेदिक र अन्य चिकित्सा पद्धतिको सिद्धान्त नै फरक छ,’ यादवले भने, ‘श्वासप्रश्वास, प्रतिरोधी क्षमता विकास गर्न र पेटमा समस्या भएका रोगीमा दिने औषधिमा जेठी मधुको प्रयोग हुँदै आएको हो।’
नेपालमा कोरोनाका संक्रमितको संख्या आइतबार साँझसम्मका ३४ सय ४८ पुगेको छ। हालसम्म १३ जनाको मृत्यु भएको छ।
परिषदले आयुर्वेदिक औषधिसहितका कोभिड १९ को बारेमा ११ वटा अनुसन्धान अघि बढाएको सदस्य सचिव डा. ज्ञवालीले बताए। जसमा जीन सिक्वेन्सिङ, कोरोना संक्रमणका उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको मनोविज्ञान, क्वारेन्टिनमा रहेका व्यक्तिको मनोविज्ञान, आम जनतामा कोरोना संक्रमणको बारेमा रहेको बुझाइ, कोभिड अस्पताल तथा क्लिनिकहरुको तयारीको अवस्थासहितको विषय समावेश छन्।

प्रतिक्रिया