समाज


कोरोनाबाट कर्णालीका तीन जनाको मृत्यु, तीनै जनामा मृत्युपछि मात्रै कोरोना पुष्टि

कोरोनाबाट कर्णालीका तीन जनाको मृत्यु, तीनै जनामा मृत्युपछि मात्रै कोरोना पुष्टि

नेपालखबर
जेठ २४, २०७७ शनिबार ९:२६,

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन्।

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवक थिए। उनको यही जेठ १७ गते क्वारेन्टिनमै मृत्यु भएको थियो।

त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनलाई कोरोना संक्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो।

कोरोनाको संक्रमणकै कारण जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको हो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा मंगल रावलले कोरोनाकै कारण उनको मृत्यु भएको जानकारी दिए। भौगोलिक विकटताका कारण मृत्युपछि २२ गते स्वाब संकलन गरी जुम्ला प्रतिष्ठानमा पीसीआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा. रावलले बताए।

सुर्खेतबाट यही जेठ १६ गते डोल्पा पुगेका उनलाई सुरुमा क्वारेन्टिनमा राखिएको थियो। लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टिनमा राखिएको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो।

कर्णालीमा मृत्यु हुने तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .