काठमाडौं महानगपालिकाले जनप्रतिनिधि, कर्मचारी र सामाजिक परिचालकको कोरोना बीमा गरेको छ।
कामपाले बिहीबार राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरी एक हजार ९८२ जनाको बीमा गराएको जनाएको छ। सम्झौतामा कामपाको तर्फबाट प्रशासन विभागका प्रमुख नमराज ढकाल र लिमिटेडका तर्फबाट मुख्य व्यवस्थापक सुवास कोइरालाले हस्ताक्षर गरेका जनाइएको छ।
कोरोना भाइरस (कोभड–१९) को प्रतिकूल समयमा पनि सेवाग्राहीका बीचमा बसेर काम गर्ने कर्मचारीको मनोबल उच्च बनाउन बीमा गरिएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले बताए।
सम्झौताबमोजिम आगामी वर्ष (२०७८) जेठ २२ गतेभित्र बीमित व्यक्तिमा पीसीआर (पोलिमेयर चेन रियाक्सन) रिपोर्टमा पहिलोपटक पोजेटिभ देखिए महानगरको सिफारिसमा रु एक लाख प्राप्त हुनेछ।
प्रतिव्यक्ति रु ६०० शुल्क तिरेर एक वर्षका लागि बीमा गरिएको हो। हाल कामपामा १६० जनप्रतिनिधि, ३० जना सामाजिक परिचालक छन्। यसैगरी स्थायी, अस्थायी, करार र सञ्चार क्षेत्रमा काम गर्ने गरी एक हजार ७९२ जना जनशक्ति कार्यरत छन्। रासस

प्रतिक्रिया