ad ad

समाज


विद्यालय भरिएपछि तरकारीका टनेल नै क्वारेन्टिन

विद्यालय भरिएपछि तरकारीका टनेल नै क्वारेन्टिन

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ८:४३,

दैलेख जिल्लाको पश्चिमतिर पर्ने ठाँटीकाँध गाउँपालिकाभरि निर्माण गरिएका विद्यालय भरिएपछि गाउँभन्दा केही पर जंगलमा तरकारी लगाउन प्रयोग गरिने टनेल नै क्वारेन्टिन बनाउन थालिएको छ।

तरकारी लगाइने जग्गामा प्लाष्टिक राखेर आपत्कालीन क्वारेन्टिन निर्माण गरेर काम शुरु गरिएको छ। सबै स्थान भरिएपछि बाध्य भएर आज मात्रै तीन पोलिहाउसमा पाल राखिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बताए।

उनले भने, ‘कि त जनतालाई जहाँ जान्छौ जाऊ भन्नुपर्छ, हैन भने जहाँ जे भेटिन्छ त्यसैले व्यवस्थापन गर्नुपर्छ।’

अहिलेसम्म गाउँपालिकामा एक हजारभन्दा बढी मानिस भारतबाट प्रवेश गरिसकेका छन्। कसैको पनि स्वास्थ्य जाँच गरिएको छैन। जाँच गर्ने टोली बल्ल आउन लागेको जानकारी पाएको अध्यक्ष शाहीले बताए।

क्वारेन्टिनमा बसेकाले मैलाई छोइदिएः शाही
प्रदेश सरकारले धमाधम जनता गाउँ पठाएर क्वारेन्टिनमा राख्न आदेश दिएकाले आफूहरुले बाध्य भएर काम गर्नुपरेको अध्यक्ष शाहीले बताए।

‘पालिकामा क्षमता कति छ भनेर कसैले मूल्यांकन गरेनन्। हामीले जसोतसो व्यवस्थापन गरेका थियौँ। भारतबाट आएका दाजुभाइहरु दुःखसुख गरेर १४ दिनसम्म बसिदिएको भए राम्रै हुन्थ्यो। कतिपय क्वारेन्टिनमा बस्नेहरुको शैली पनि अराजक देखियो। मैले सबै जनतालाई सम्झाउँदै गएँ, एक अर्कासँग दूरी कायम गर्नुपर्दछ, कहीँ कतै कसैसँग छुनु हुुँदैन रोगको संक्रमण बढ्छ भनेर भन्दै थिएँ, एक जना आउनुभयो र मलाई छोइदिनुभयो अनि भन्नुभयो, अब तपाईँलाई कोरोना सर्छ, मैले सारिदिएँ।’

यतिसम्मको मानसिकताले संक्रमण झनै फैलिन सक्ने अध्यक्ष शाहीले गुनासो गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .