ad ad

समाज


रुकुम पश्चिमको घटनामा २१ नागरिक अगुवा भन्छन्ः नदीमा हाम फालेपछि पनि ढुंगा प्रहार गरि हत्या

रुकुम पश्चिमको घटनामा २१ नागरिक अगुवा भन्छन्ः नदीमा हाम फालेपछि पनि ढुंगा प्रहार गरि हत्या

नेपालखबर
जेठ १३, २०७७ मंगलबार १५:४४,

अन्तर्जातीय प्रेम विवाह गर्न लागेको निहुँमा रुकुम पश्चिमको चौरजहारीमा जाजरकोटका नवराज विकलगायत युवाको हत्यामा संलग्नहरूलाई कडा कारबाही गर्न नागरिक समाजले माग गरेको छ।

दमननाथ ढुंगाना, केदारभक्त माथेमा, रामेश्वर खनाल, रेम विश्वकर्मा श्याम श्रेष्ठ, सुशील प्याकुरेल, टीका ढकाललगायत २१ जनाको हस्ताक्षरमा मंगलबार विज्ञप्ति जारी गरी नागरिक समाजका तर्फबाट घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाउँदै दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको हो।

नागरिक समाजले गरेकाे अपिल

२०७७ ज्येष्ठ १३, मंगलबार

पश्चिम रुकुम, चौरजहारी नगरपालिका ८ मा स्थानीयको कुटपीटबाट यहि जेठ १० गते शनिबार राति जाजरकोट भेरी नगरपालिका(४ राना गाउँ निवासी तीन जनाको मुत्यु भएको र अन्य तीन जना बेपत्ता भएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।उक्त घटनाको तत्काल विस्तृत छानबिन गरी दोषीलाई कारवाही गर्न हामी सरकारसमक्ष अपील गर्दछौं।

अन्तरजातीय विवाह रोक्न स्थानीयले ढुङ्गामुढा लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेका तीन जनाको शव फेला परेको छ, तीन अझै बेपत्ता छन्। नदीमा हाम फालेपछि पनि स्थानीयले ढुंगा प्रहार गरिरहँदा नवराज विक, टीकाराम नेपाली र गणेश बुढाको हत्या भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार अझसम्म बेपत्ता छन्।

आफूलाई उच्च जात दाबी गर्ने केटी पक्षका स्थानीयले केटा पक्षलाई दलित भएको आरोप लगाई कुटपीट गरेको घटनाक्रमले देखाएको छ। स्थानीय निर्वाचित प्रतिनिधिसमेत कुटपिट गर्ने अपराधमा सामेल हुनु खेदजनक छ।

नेपालको कानुनले जातीय छुवाछूतलाई अपराध मानेको छ। मुलुकी ऐन २०२० ले सबै प्रकारको छुवाछूतलाई दण्डनीय बनाएपनि व्यवहारमा छुवाछूतका अवशेष कायम रहे। त्यसैले गणतन्त्र स्थापना भएपछि नेपालको संसदले २१ जेठ ०६३ मा नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेकोतर्फ कानुन पालना गराउने निकायको ध्यानाकर्षण गराउन चाहन्छौं।

नेपालको वर्तमान संविधानले प्रत्येक व्यक्तिको मानवोचित मर्यादा समान हुने प्रत्याभूति गरेको छ। जातीय विभेद तथा छुवाछुत विरुद्धको अभिसन्धिलगायत मानव अधिकारसम्बन्धी विभिन्न महासन्धिको नेपाल पक्ष राष्ट्र हो। विक्रम सम्वत् २०६८ मा सबै प्रकारका जातीय भेदभावलाई उन्मूलन गर्ने र त्यस्ता घटना घटाइएमा कानुनी उपचारको बाटो अवलम्बन गर्ने कानुन नेपालको संसदबाट निर्माण भएको छ।

चौरजहारी घटना गम्भीर र अपराधिक प्रकृतिको देखिन आएकाले हामी यसको घोर भर्त्सना गर्दै निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न तथा दोषीलाई कानुनको दायरामा ल्याई मुलुकी अपराध संहिता, २०७४ र छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन, २०६८ बमोजिम हदैसम्म सजाय गरी कानुनको शासन र न्यायको प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गर्दछौं। यसका साथै यस विषयमा राष्ट्रिय मानव अधिकार आयोग तथा राष्ट्रिय दलित आयोगको समेत ध्यानाकर्षण गर्दछौं।

मृतक परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं। साथै बेपत्ता व्यक्तिहरुको तत्काल खोजी गरी पीडितलाई कानुनबमोजिम क्षतिपूर्तिसहित सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन र आगामी दिनमा यस प्रकारका घटना नहुने सुनिश्चित गर्न समेत सरकारसँग जोडदार अपिल गर्दछौं।

हस्ताक्षरकर्ताः 

१. दमननाथ ढुंगाना

२. अर्जुन ढकाल

३. अर्जुन कार्की

 ४. भोजराज पोखरेल

५. विपिन अधिकारी

६. वीरेन्द्र मिश्र

७. चाँदनी जोशी

८. चरण प्रसाईं

९. गणेश मण्डल

१०. कनकमणि दीक्षित

११. कपिल श्रेष्ठ

१२. केदारभक्त माथेमा

१३. लिली थापा

१४. राजेन्द्र दाहाल

१५. रामेश्वर खनाल

१६. रेम विश्वकर्मा

१७. रेणु अधिकारी

१८. रीता थापा

१९. श्याम श्रेष्ठ

२०. सुशील प्याकुरेल

२१. टीका ढकाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .