प्रदेश २ मा पछिल्लो २४ घण्टामा ३५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा रौतहटमा २२ जना, सिरहामा ५, बारामा ५, महोत्तरीमा २ र धनुषामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार सबैको स्वास्थ्य अवस्था समान्य रहेको र सबैलाई नजिकको पर्ने आइसोलेशन अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ।
अहिलेसम्म ७२ जना उपचारपश्चात निको भएका छन्। वीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पतालबाट उनीहरु सबै निको भएर डिस्चार्ज भएको सचिव घिमिरेले जानकारी दिए।
योसँगै प्रदेश २ मा संक्रमितको संख्या २ सय ६८ पुगेको छ भने उपचार पश्चात ७२ जना निको भएर घर फर्केका छन्।
संक्रमित व्यक्तिहरु अधिकांश भारतबाट आएका र उनीहरुको सम्पर्कमा गएकाहरुलाई कोरोना संक्रमण भएको मन्त्रायले बताएको छ।
नेपाल भारत खुल्ला सीमाको कारण प्रदेश २ मा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको सचिव घिमिरेको भनाइ छ। भारतको विभिन्न स्थानमा काम गर्न गएका यहाँका नागरिक घर फर्किरहेकाले कोरोना रोकथाम तथा नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ। खुल्ला सीमालाई व्यवस्थापन गर्न मन्त्रायले सम्बन्धित सरोकारबालाहरुलाई आग्रह गरेको छ।

प्रतिक्रिया