समाज


करारका चिकित्सक भन्छन्– हाम्रो योग्यता र क्षमतामाथि प्रश्न उठाउनु अन्यायपूर्ण

करारका चिकित्सक भन्छन्– हाम्रो योग्यता र क्षमतामाथि प्रश्न उठाउनु अन्यायपूर्ण

नेपालखबर
असार ५, २०८३ शुक्रबार २१:२, काठमाडौँ

वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा करार र मासिक ज्यालादारीमा कार्यरत चिकित्सकहरूले नेपाल चिकित्सक संघको जिम्मेवारीमा रहेका पदाधिकारीले आफूहरूको योग्यता, दक्षता र क्षमताबारे प्रश्न उठाउँदै मानमर्दन गर्ने खालका अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्।

चिकित्सकहरूको व्यावसायिक हक अधिकारको संरक्षण गर्ने दायित्व बोकेका केही चिकित्सक पदाधिकारीबाट नै त्यसै पेसाभित्रका सहकर्मीप्रति यस प्रकारका आक्षेपजनक टिप्पणी हुनु अत्यन्त दुःखद र चिन्ताजनक विषय हो भन्दै उनीहरूले यसले सम्वद्ध चिकित्सकहरूको मनोबल मात्र होइन, आफूहरू कार्यरत राष्ट्रिय स्तरका यी प्रतिष्ठित अस्पतालहरूको सम्मानमा समेत आँच पुर्याएको दाबी गरेका छन्।

‘वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत हामी सबै चिकित्सकहरू नेपाल मेडिकल काउन्सिलको अनिवार्य इजाजतपत्र परीक्षा उत्तीर्ण गरी नेपाल सरकारले निर्धारित गरेको विधि, प्रक्रिया र मापदण्ड पूर्णतः पालना गरी सेवामा आबद्ध छौं’ शुक्रबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो योग्यता र क्षमतामाथि प्रश्न उठाउनु आधारहीन मात्र नभई हाम्रो व्यावसायिक प्रतिष्ठामाथि गरिएको अन्यायपूर्ण आक्रमण हो, जुन नैतिक र कानुनी दुवै दृष्टिले गम्भीर चिन्ताको विषय हो। हामीमाथि प्रश्न उठाउने केही चिकित्सक साथिहरु स्वयं करार सेवामा नै कार्यरत भएको समेत जानकारी गराउँदछौं।’

चिकित्सक समुदायभित्रको भातृत्व र व्यावसायिक सम्बन्धलाई दृष्टिगत गरी उक्त किसिमका भ्रामक तथा आक्षेपजनक अभिव्यक्तिहरू दिने पदाधिकारीले त्यस्तो अभिव्यक्ति तुरुन्तै फिर्ता लिई आत्मलोचना गर्नु ध्यानाकर्षण गराइएको छ। 

‘यस्तो खेदजनक अभिव्यक्ति, आत्मालोचना सहित फिर्ता नलिएमा, यस्ता अभिव्यक्तिहरू निरन्तर रहेमा र हाम्रो आत्मसम्मानलाई चोट पुर्याउने काम नरोकिएमा हामी आफ्नो व्यावसायिक प्रतिष्ठा र संस्थागत गरिमाको संरक्षणका लागि आवश्यक कानुनी विकल्पहरू खोजी गर्न बाध्य हुने जानकारी गराउँदछौँ’ ‘सम्पूर्ण करार तथा मासिक ज्यालादारीमा कार्यरत चिकित्सकहरू’को नाममा जारी विज्ञप्तिमा उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad