अमेरिकामा विश्वमै सबैभन्दा बढी व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ। मृतकको संख्या पनि अमेरिकामै उच्च छ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न नसकेको भनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको देश भित्रै चर्को आलोचना हुने गरेको छ।
ट्रम्पले भने आफ्नो देशमा कोरोनाको परीक्षण प्रभावकारी भएकाले यहाँ संक्रमित व्यक्तिहरु धेरै भएको प्रतिक्रिया दिने गरेका छन्। ट्रम्पले चीनले कोरोनाको प्रभावबारे चाँडो जानकारी नदिएका कारण विश्वमा कोरोना फैलिएको बताउँदै आएका छन्।
यतिबेला अमेरिकामा १६ लाख ६६ हजारभन्दा बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ४ लाख ४६ हजार उपचारपछि स्वस्थ बनेका छन् भने ९८ हजार ६८३ को मृत्यु भएको छ।
अमेरिकामा मृतकको संख्या एक लाख नजिक पुगेका बेला राष्ट्रपति ट्रम्प भने गल्फ खेल्न गएका छन्।
ट्रम्प भर्जिनियास्थित आफ्नो निजी ट्रम्प नेसनल गल्फ क्लबमा गल्फ खेल्न गएको रोयटर्सले जनाएको छ। ट्रम्पले गल्फ खेलेको विषयमा ह्वाइट हाउसले केही बताएको छैन।
सार्वजनिक तस्बिरहरुमा शनिबार उनी गल्फ खेल्ने सामाग्री लिएर गल्फ क्लब छिरेको देखिएको छ।
कोरोना नियन्त्रण गर्न नसकेको आलोचना व्यहोरिरहेका ट्रम्प गल्फमा व्यस्त भएपछि विपक्षी डेमोक्रेटिक पार्टीका नेताहरुले ट्रम्प गैरजिम्मेवारपूर्ण नेता भएको भन्दै आक्रोश पोखिरहेका छन्।
प्रतिक्रिया