ad ad

समाज


विद्यालयको पठनपाठन र एसईई परीक्षाबारे यस्तो छ, विज्ञहरुको सुझाव

विद्यालयको पठनपाठन र एसईई परीक्षाबारे यस्तो छ, विज्ञहरुको सुझाव

नेपालखबर
जेठ ११, २०७७ आइतबार ११:४९,

शिक्षाविद्हरुले विद्यालय स्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन र एसईईको परीक्षा स्थगन गर्न सुझाव दिएका छन्।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथामका लागि सरकारले लकडाउन लागू गरेपछि सबै विद्यालय र विश्वविद्यालयको पठनपाठन बन्द छ। लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु गर्न विज्ञहरुले सुझाव दिएका छन्।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको आइतबारको बैठकमा विज्ञहरुले एसईईको परीक्षा स्थगित गर्न र विद्यालयलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्न सुझाव दिएका हुन्।

शिक्षाविद् डा. मनप्रसाद वाग्लेले विद्यार्थीहरुलाई पालैपालो सिफ्टवाइज विद्यालय बोलाएर पढाई सूचारु गर्नुपर्ने बताए। उनले अहिले देशभरका अधिकांश विद्यालयलाई क्वारेन्टिन बनाइएको र त्यसको व्यवस्थापन कठिन हुने भन्दै सरकारले तत्काल विचार गर्नुपर्ने बताए। उनले विद्यालयलाई निर्मलिकरण गर्ने, पालैपालो विद्यालयमा बोलाउने, विद्यार्थीलाई मास्क, पन्जा र स्यानिटाइजरको व्यवस्था गर्ने, प्रत्येक विद्यालयमा इन्फ्रारेड थर्मोमिटरको व्यवस्था गर्ने, शौचालयको राम्रो व्यवस्था गर्ने लागयतका काम गर्नपनि सुझाव दिए।

लकडाउनमा केही विद्यालयहरुले अनलाइनबाट पढाई सुरु गरेका छन्। तर सबै विद्यार्थीहरुमा इन्टरनेटको उपलब्धता नहुने भएकाले उक्त प्रविधि सबैका लागि उपयुक्त नहुने पनि विज्ञहरुले बताएका छन्। सरकारले टेलिभिजन, रोडियो, छापा र अनलाइन मिडियाबाट पढाउने गरी पाठ्यक्रमको विकास गर्नपर्नेमा विज्ञहरुले सुझाव दिएका छन्।

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भएपनि कक्षा १० र ११ को परीक्षा हटाउनुपर्ने बताए। उनले कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठिन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए।

सांसद डा. मिनेन्द्र रिजालले प्रविधिको प्रयोग गरी विद्यायल शिक्षालाई सुचारु गर्न सकिने बताए। उनले सरकारले प्रविधिको विकासका लागि श्रोत दिने र स्थानीय तहबाट शिक्षाका क्रियाकलापलाई व्यवस्थापन गर्नेगरी काम गर्नुपर्ने बताए।

सांसद पम्फा भुसालले विद्यालय शिक्षालाई नियमित कसरी गर्ने, परिमार्जन कसरी गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताए। उनले एसईई परीक्षा हटाई कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाट लिनुपर्ने बताए। उनले एसईई परीक्षा सञ्चालन गर्ने विषयभित्र आर्थिक स्वार्थ समेत लुकेको हुनसक्ने भन्दै यसलाई हटाई कक्षा १२ को परीक्षा मात्रै लिनुपर्ने बताए।

सांसद प्रभु साहले कोरोना भाइरसको जोखिमको अवस्था कति लामो समयसम्म जान्छ र विद्यालय कहिलेसम्म बन्द हुन्छ भन्ने विषयमा स्पस्ट हुनुपर्ने बताए। उनले लामो समय विद्यालय बन्द हुने, अनलाइनको पाठ्यक्रमको विकास र प्रणालीको विकास गर्न समय लाग्ने भएकाले मन्त्रालयले योजनाको विषयमा समितिले जानकारी लिएर अगाडि बढ्नुपर्ने बताए।

गत चैत ११ गते देखि लकडाउन भएपछि एसईईको परीक्षा स्थागित भएको छ। लकडाउनका कारण विद्यालयहरु सञ्चालनमा आउन पनि सकेका छैनन्। यस्तै लामो समयसम्म कोरोना भाइरसको संक्रमणको जोखिम देखिने अवस्थामा विद्यालय शिक्षामा असर पर्ने पक्का छ। किनभने अधिकांश विद्यालयलाई क्वारेन्टिनको रुपमा प्रयोग गरिएको छ। जसले गर्दा विद्यालयलाई तत्काल सुचारु गर्न कठिनाई हुने छ।

त्यस्तै लकडाउन पछि पनि विद्यालय सञ्चालन गर्न न्यूनतम स्वास्थ्य सुरक्षा अपनाउनको लागि प्रत्येक विद्यालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने हुन्छ। त्यसको तयारी सरकारले अहिले सम्म गरेको छैन। त्यसैले लामो समयसम्म विद्यालय शिक्षा बन्द हुने भन्दै विद्यालयलाई कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा समितिले छलफल सुरु गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .