ad ad

समाज


कोरोना कहरमा नहराएको मानवता

कोरोना कहरमा नहराएको मानवता

नारायण ढुंगाना
जेठ १०, २०७७ शनिबार ११:१९,

 ‘हेल्लो, रामजी सर, लौन मान्छे विक्षिप्त अवस्थामा सकडमा बेवारिसे बनेर बसिरहेको छ, लगिदिनुपर्‍यो, साह्रै विजोग छ’, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीलाई यस्तै खालका फोन आजकल दैनिक १० देखि १५ वटा आउँछ।

कोरोना कहरका कारण विगतमा जस्तो मानिसको उद्धार गर्न सहज नभए पनि मानिसको तारन्तारको फोनले खिन्न बनाउँछ। उनीहरुलाई आश्रममा ल्याउन पीसीआर परीक्षण पहिलो शर्त हो। यसरी फोन गर्ने मानिसलाई परीक्षणको मतलब हुन्न। उनीहरुको सोच उठाएर लगिदिए हुन्थ्यो मात्रै हुन्छ। एकै फोनमा उठाउन सक्ने सम्भावना हुन्न, त्यसैले कतिपय रिसाउँछन्।

उनले लकडाउनको अनुभव सुनाउँदै भने, ‘पीसीआर गरेपछि भन्नुहोला हामी सेवामा तयार छौँ भनेर जवाफ दिन्छौँ, तत्कालै नउठाएको भनेर कतिपय रिसाउनुहुन्छ, त्यसैले ७७ वटै जिल्लाबाट आउने सबै फोन म आफैँले सम्हाल्ने गरेको छु।’

पछि समस्या आउन सक्ने हुँदा उद्धारसम्बन्धी फोनको उनी आफैँले सम्बोधन गर्छन्। ‘कोभिड–१९ मा हेलचेक्र्याइँ गर्नु हुन्न भन्नेमा सबै सचेत हुनुपर्छ। राज्यले लागू गरेको स्वास्थ्य मापदण्डलाई अक्षरशः पालना गर्नैपर्छ। संक्रमणदर बढ्दो रहेकाले अझै सचेत हुँदै काम गर्नुपर्ने अवस्था छ। कोरोना कहर मात्रै भनेर नहुने रहेछ। सडकमा दुःख बल्झिएको देख्दा मन कटक्क खान्छ, त्यसै छाड्न मन मान्दैन’ उनी भन्छन्। आफ्नै प्रयासमा भनेपछि पीसीआई र आरडीटी गरेर उद्धारमा खटिएको बताउछन्।

‘पीडा देख्दादेख्दै पनि आरडीटी या पीसीआर नगरी उद्धार गर्न सकिएको छैन। मुलुक नै प्रभावित भइरहेको बेला अहिले सडकका मानिसलाई पीसीआर गर्न धौधौ पर्छ। त्यही पनि रिपोर्ट नेगेटिभ भएका ७७ जनालाई हामीले उद्धार गर्न सफल भएका छौँ’, उनले भने। उनीहरुलाई विभिन्न आश्रममा राखिएको छ।

बन्दाबन्दीपछि झन् सडकमा मानिस आउने क्रम बढेको अनुभव गर्छन् उनी। अन्य असंगठित मजदुरसमेत सडकमा आइपुगेकाले अवस्था दयनीय बन्दै गएको छ। यो अवस्थामा धेरैलाई अझै उद्धार गर्न सकिएको छैन। तैपनि स्वास्थ्य मापदण्ड अपनाएर आश्रमले लकडाउनको अवधिमा ७७ जनाको उद्धार गरेको छ। लकडाउन नभएको भए काठमाडौँ महानगर सडक मानवमुक्त महानगर घोषणा भइसक्थ्यो। त्यसको तयारीमा दैनिक उद्धार अभियान चलिरहेकै थियो। सबै योजना कोरोना कहरसँग चकनाचुर भएरको छ।

मानवसेवा आश्रमका प्रवक्ता सुमन बर्तौलाका अनुसार बन्दाबन्दीको समयमा काठमाडौँ उपत्यकाको तीन जिल्लाबाट १९ जनाको उद्धार भएको छ। मकवानपुरमा नौ, गोरखामा एक, विराटनगरमा १८, कास्कीमा १५, रुपन्देहीमा चार, बागलुङमा चार र सुर्खेतमा सातजनाको उद्धार गरिएको छ।

अझै धेरै सडकमा भए पनि पीसीआर गर्न नसकिएकाले ल्याउन नपाएको आश्रमको अनुभव छ। आश्रममा क्वारेन्टिन छैन। त्यसैले सिधै उठाउन सकिने अवस्था छैन। तैपनि विभिन्न सहयोगी संस्थाले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्दै सेवा भने छाडिएको छैन। उनीहरुले अझै मानवीयतालाई हराउन दिएका छैनन्।

उद्धार गर्नका लागि पीपीइ लगाएर आश्रमका अभियानकर्मी खटिन्छन्। हातमा पञ्जा, साथमा सेनिटाइजरसहित मुखमा मास्क लगाएर सडकमा पुग्छन्। भेटिएका बेसहारा सडक मानवलाई उद्धार गर्दा मापदण्डकै प्रयोग गर्ने गरिएको छ। उनीहरुलाई पनि सेनिटाइज गरेर मास्क दिएरमात्रै उद्धार गर्ने गरिएको छ।

आश्रमले अहिलो झण्डै एक हजार १०० जनालाई संरक्षण दिँदै आएको छ। यसरी उद्धार भएका ६०० बढीलाई परिवारमा मिलन गराइएको छ। विसं २०६९ देखि यसरी सेवा थालेकामा हाल सात प्रदेशको १७ जिल्लाका १९ शाखाबाट सेवा दिइरहेको छ।

भोकालाई खाना पनि जारी छ
लकडाउनका कारण असंगठित क्षेत्रका मजदुर सडकमा आइपुगे। सडक सेवामा निस्किँदा खान नपाएको कुरा सुनेपछि अधिकारीको मन कुँडियो। अनि गत चैत २४ बाट भोकालाई खाना दिने अभियान भक्तपुरबाट शुरु गरिएको थियो। आजसम्म पनि खाना खुवाउने क्रम जारी छ।

दैनिक झण्डै ७०० जनालाई खाना खुवाउँदै आएको आश्रमले जनाएको छ। भक्तपुरका विभिन्न स्थानमा गाडी लिएर खाना वितरण गर्ने गरिएको छ। केही हप्ताअघिसम्म अन्य संस्थाले पनि खाना दिन्थे। तर लकडाउन थप कडा भएपछि अन्य संस्थाले खाना खुवाउन छाडे त्यसपछि बोझ आश्रमलाई नै थपिएको जनाइएको छ।

काठमाडौँका पनि धेरै स्थानबाट भोकै भएको भन्दै फोन आइरहेको छ। अब आइतबारदेखि सडकको अवस्था बुझ्ने र काठमाडौँमा पनि भोको भएकालाई खाना दिने अभियान चलाउन थालिएको अभियानकर्मी सुमन बर्तौलाले बताए। सबै काम प्रहरी र स्थानीय तहसँगको समन्वयमा सामाजिक दूरी कायम गरेर स्वास्थ्य मापदण्डअनुसार नै गर्ने गरिएको जनाइएको छ।

उक्त संस्थाले विगत सात वर्षदेखि मुलुकलाई नै असहाय सडक मानवमुक्त बनाउने अठोटका साथ सडकमा मागेरसमेत खान नसक्ने, बेसहारा, मनोरोगीको उद्धार गरी संरक्षणको अभियान चलाउँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .