ad ad

समाज


अमेरिकाले गर्‍याे कोरोनाविरुद्धको खोपका लागि अहिलेसम्मकै ठूलो लगानी

अमेरिकाले गर्‍याे कोरोनाविरुद्धको खोपका लागि अहिलेसम्मकै ठूलो लगानी

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १५:४२,

कोरोना भाइरसबाट विश्वमा सबैभन्दा बढी पीडित अमेरिकाले यसविरुद्ध खोप विकासमा व्यापकता दिइरहेको छ।

यसै क्रममा अमेरिकी सरकारले कोरोनाविरुद्ध खोप विकासमा विश्वमै सबैभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकालाई यसका लागि १ अर्ब २० करोड डलर अनुदान उपलब्ध गराउने भएकाे छ।

अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सका अनुसार अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागले बिहीबार खोप निर्माणका लागि अनुदान उपलब्ध गराउने सम्झौता गरेकाे हो।

जसमा अनुदान दिएबापत खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण अमेरिकामा गराउनुपर्ने र यसका लागि कम्तीमा ३० करोड वटा खोप उपलब्ध गराउनुपर्ने सर्त अमेरिकाले राखेको छ।

अमेरिकी स्वास्थ्य विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छः एस्ट्राजेनेकाले कम्तीमा ३० करोड वटा खोप अमेरिकालाई उपलब्ध गराउनुपर्नेछ। जुन अक्टोबरभन्दा अघि नै आइसक्ने अनुमान छ।’

यस अर्थमा अनुदान भनिए पनि अमेरिकाले परीक्षण सफल हुनेबित्तिकै कम्तीमा ३० करोड खोप बुक गर्ने उद्देश्यले यस्तो निर्णय गरेको विश्लेषण गरिएको छ।

अमेरिकाले यसअघि कोरोनाविरुद्ध खोप विकास गर्ने अन्य परियोजनासँग पनि सम्झौता गरिसकेकाे छ। एस्ट्राजेनेकासँगको सम्झौता चौथो र अहिलेसम्मकै सबैभन्दा ठूलो खोप अनुसन्धान सम्झौता भएकाे द न्युयाेर्क टाइम्सले जनाएकाे छ। 

तर धेरै जनस्वास्थ्य विशेषज्ञ र वैज्ञानिकले यो खोप अर्को वर्षसम्म उपलब्ध हुने सम्भावना न्यून रहेकाे बताएका छन्। साथै संसारभरका लागि अर्बौं खोप आवश्यक पर्ने उनीहरूको अनुमान छ।

तर उत्पादक कम्पनी एस्ट्राजेनेकाले खोपका लागि अरू पनि धेरै सरकार र संस्थासँग सम्झौता भइसकेको बताउँदै आफूसँग अहिले नै १ अर्बवटा खोप उत्पादन गर्ने क्षमता रहेको र आगामी सेप्टेम्बरसम्ममा पहिलो चरणको वितरणसमेत सुरु गरिने दाबी गरेको छ।

विश्वभरि सस्तो र सहज रूपमा खोप उपलब्ध होस् भनेर आफूले संसारका सात देशबाट एकैसाथ उत्पादन गर्ने लक्ष्य लिएको आस्ट्राजेनकाले जनाएको छ। यसका लागि विभिन्न देशका औषधि उत्पादक कम्पनीसँग सम्झौता प्रक्रिया अघि बढाइएको कम्पनीकाे भनाइ छ। तीमध्ये भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियासँग पनि सम्झौता गरेको आस्ट्राजेनकाले जानकारी दिएको छ।

कोरोनाविरुद्ध खोप बनाउन अहिले विश्वका वैज्ञानिकबीच होडबजाी नै चलिरहेको छ। अमेरिका आफैंले पनि खोप विकासको महत्वाकांक्षी परियोजना सुरू गरेको छ। गत शुक्रबार मात्र अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले सन् २०२० अन्त्यसम्म खोप विकास गर्ने उद्देश्यले ‘अपरेसन र्‍याप स्पिड’ घोषणा गरेका छन्। तर पनि बेलायती परियोजनामा ठूलो लगानी गर्नुले अमेरिका उसैप्रति बढी आशावादी देखिएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

यो कम्पनीले कोरोनाविरुद्ध खोपको बाँदरमा सफल परीक्षण गरिसकेको छ। मान्छेमा परीक्षण सफल हुनुअघि नै १० लाख वटा खोप निर्माण थालिएकाे आस्ट्राजेनेकाले जनाएको छ।

अक्सफोर्डका वैज्ञानिकले गत महिना खाेपकाे पहिलो चरणको क्लिनिकल परीक्षण गरेका थिए। अब दोस्रो र तेस्रो चरणको परीक्षण यो महिनाको अन्त्यसम्म बेलायतमा गरिने बताइएको छ। परीक्षण सफल भयो भने संसारभरि आकस्मिक प्रयोगका लागि सेप्टेम्बरसम्म अनुमति प्राप्त हुने वैज्ञानिककाे अनुमान छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .