आज मंगलबार देशका कतै वर्षा र हिमपात त कतै तातो दिन हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशका हिमाली र पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने तराईको आकाशमा आंशिक बादल लाग्नेछ। अनि हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै यी प्रदेशका पहाडी-हिमाली भेगमा हिमपात हुने सम्भावना छ। मधेस प्रदेश तथा कोसी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना पनि छ।
यस्तै राति देशका हिमाली भेगको आकाशमा साधारणतया तथा पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने छ। अनि कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै हिमपातको पनि सम्भावना छ।
मौसमविद्का अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभाव छ।
काठमाडौँमा साँझपख पानी पर्ने सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको हो।
‘अहिले बिहान भने काठमाडौँ उपत्यकाको मौसम मुख्यतया सफा छ’, उनले नेपालखबरसँग भने, ‘तर दिउँसोपछि बादल बढ्दै गएर अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ।’
यो सम्भावना ४० प्रतिशत देखिएको उनले बताए।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया