समाज


दिल्लीबाट क्यान्सरको उपचार गरेर फर्केका थिए चितवनका कोरोना संक्रमित

दिल्लीबाट क्यान्सरको उपचार गरेर फर्केका थिए चितवनका कोरोना संक्रमित

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १०:३५,

चितवनका दुई जना कोरोना संक्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ। दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएका थिए। भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा आज भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु दम्पती हुन्। उनीहरुसँगै दिल्ली गएका जेठो छोरामा भने संक्रमण देखिएको छैन।

उनीहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गरेका थिए। एम्बुलेन्स परिवर्तन गरी उनीहरु यहाँ आइपुगेका थिए। उनीहरु घर आएदेखि नै सेल्फ क्वारेन्टिनमा बसेका थिए। संक्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले आज कन्टयाक्ट ट्रेसिङ गरेको छ।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए। उनका अनुसार संक्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए। उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ।

अहिले संक्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ। संक्रमित बिहीबार आफैँ परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए। उनीहरुमा संक्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ।

यस्तै नवलपरासी पूर्व विजय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुषको पनि भरतपुर कोरोना अस्पतालमै उपचार भइरहेको छ। अहिले सो अस्पतालमा चार संक्रमितको उपचार भइरहेको छ। दुई थपिएसँगै चितवनमा संक्रमितको संख्या पाँच पुगेको छ। यसअघि संक्रमण पुष्टि भएका राप्ती नगरपालिकाका दुई आमा छोरा निको भएर घर फर्किसकेका छन् भने एक महिलाको काठमाडौंमै उपचार भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .