स्वास्थ्य बीमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाअन्तर्गत उपचार गरिएमा बीमाको भुक्तानी नगरिने जनाएको छ।
सोमबार बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवनकुमार साह सूचना जारी गरी निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम कटौती गरिएको स्मरण गराएका छन्। आकस्मिक प्रकृतिको उपचार गर्दा भने स्वास्थ्य बीमा दाबी गर्न सकिने जनाएको छ।
‘कुनै बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक पर्ने प्रकृतिको देखिएमा मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नुहुन साथै त्यस्ता आकस्मिक बिरामीलाई उपचारको क्रममा भर्ना वा शल्यक्रिा समेत आवश्यक पर्ने भएमा उपचार पद्धतिअनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने बेहोरा जानकारी गराइन्छ,’ बोर्डले भनेको छ।
यसरी उपचार गर्दा भने सामान्य प्रकृतिको बिरामीलाई आकस्मिक भनेर उपचार गरेमा भने भुक्तान नगरिने जनाएको छ। बोर्डले सबै निजी अस्पताललाई पठाएको पत्रमा भनेको छ, ‘सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी दाबी पेश गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नगरिने तथा प्रचलित कानुन बमोजिम भइजाने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’
यससँगै बोर्डले सेवाग्राहीलाई पनि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई पनि अनावश्यक दबाब सिर्जना नगर्न आग्रह गरेको छ। 
Shares

प्रतिक्रिया