ad ad

समाज


स्वास्थ्य मन्त्रालय भन्छः सर्लाहीमा थपिएका संक्रमित १५, स्थानीय प्रशासन भन्छः १४ मात्रै हो!

स्वास्थ्य मन्त्रालय भन्छः सर्लाहीमा थपिएका संक्रमित १५, स्थानीय प्रशासन भन्छः १४ मात्रै हो!

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार १०:१५,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार कोरोना संक्रमितको सूची सार्वजनिक गर्ने क्रममा सर्लाहीको स्थानीय तहको नाम र वडा नम्बर मात्र हाेइन, संक्रमितको संख्या नै गल्ती लेखेको पत्ता लागेको छ।

मन्त्रालयले सर्लाहीमा १५ संक्रमित थपिएको विज्ञप्ति प्रकाशन गरेको छ तर त्यहाँको जिल्ला प्रशासन तथा सम्बन्धित स्थानीय तहले आफूहरूले पठाएको नामावलीअनुसार शुक्रबार थपिने संक्रमितको संख्या १४ मात्रै पुष्टि भएको छ।

‘हामीलाई स्वास्थ्य मन्त्रालयले १५ जनाको नाम पठाएको छ,’ सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले शुक्रबार दिउँसो नेपालखबरसँग भने, ‘तर यहाँ छानबिन गर्दा सर्लाहीका १४ जना मात्र देखिन्छन्, एक जना अन्तै कतै जिल्लाको परेको होला, त्यो त हामी कसरी जान्नु, खोजबिन गर्दै छौं।’

उसो त आज संक्रमित थपिएका सर्लाहीका दुवै स्थानीय तहका प्रमुखले पनि नामावलीअनुसार थप संक्रमितमा १४ जना मात्रै देखिएको स्पष्ट पारेका छन्।

गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवका अनुसार शुक्रबार टेकु प्रयोगशालाले गोडैताका संक्रमितको सूची पठाउने क्रममा १४ जनाको नाम पठाएको छ। तर गोडैतामा १३ जना मात्र संक्रमित भएका हुन्।

‘यहाँ एक जना (उनले नाम भनेका थिए, तर गोपनीयताका लागि यहाँ नलेखिएको) को नाम बढी आएको छ, जो हाम्रो क्वारेन्टिनमै छैनन्,’ उनले भने, ‘यहाँ आज कोरोना संक्रमित देखिएका जम्मा १३ जना मात्र हुन्, ती व्यक्ति कहाँका हुन् हामीलाई थाहा छैन।’

यस्तै विज्ञप्तिमा उल्लेख सर्लाहीको अर्काे स्थानीय तह रामनगर गाउँपालिकामा पहिलोपटक जम्मा १ जनामा मात्रै संक्रमण पुष्टि भएको त्यहाँका अध्यक्ष कृष्णप्रसाद बर्माले नेपालखबरसँग बताएका छन्।

यसरी शुक्रबार संक्रमण पुष्टि भएका ती एक जना कहाँका हुन्, अन्योल सिर्जना भएको छ।

यी सबै संक्रमितको स्वाब टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण गरिएको हुनाले यसका निर्देशक डा. रुना झालाई यसबारे नेपालखबरले जिज्ञासा राख्दा उनले भनिन्, ‘यसको रिपोर्ट मैले तपाईंलाई भन्ने हो र, मैले त मन्त्रालयमा पठाउने हो, उतै बुझ्नुस्।’

यस विषयमा बुझ्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा र सहप्रवक्ता डा. समीरकुमार अधिकारी फोन गर्दा दुवैले उठाउँदै उठाएनन्।

यस्तै आज स्वास्थ्य मन्त्रालयले गाउँपालिकाको नाम तथा नगरपालिकाका वडा नम्बरमा पनि गल्ती गरेको छ। मन्त्रालयको विज्ञप्तिमा उल्लेख गाउँपालिकाको नाम रामनगर बहुअर्वा नभएर रामनगर मात्रै भएको त्यहाँका अध्यक्ष बर्माले नेपालखबरसँग बताएका छन्।

यस्तै गोडैता नगरपालिकाका मेयर देवेन्द्रकुमार यादवले पनि आफ्नो नगरपालिकाका १२ वटा मात्रै वडा भएको १३ र १४ नम्बर नभएको जानकारी दिएका छन्।

याे पनि: 

सर्लाहीमा थप १५ संक्रमितको सूचीमा यस्ताे गडबड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .