जेनजी अभियानकी अगुवा रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगले बुधबार सार्वजनिक गरेको जेनजी आन्दोलनको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाएकी छन्।
सामाजिक सञ्जालमा उनले आफ्ना राजनीतिक कित्ताबाजी मिलाएर आयोगले प्रतिवेदन तयार गरेको आरोप पनि लगाएकी छन्।
‘सरकार, यदि तिम्रो नियत न्याय र अन्याय छुट्याउने हो भने अनुसन्धान प्रारम्भ गर। होइन भने आफ्ना राजनीतिक कित्ताबाजी मिलाउन आयोगको प्रतिवेदनमा बयान र प्रारम्भिक सोधखोजबिनै नाम राखेर आन्दोलनको अपराधीकरण गर्ने काम बन्द गर। स्वतःस्फूर्त रूपमा राष्ट्रका निम्ति, राष्ट्रमा भएको बेथितिविरुद्ध उभिएका युवाहरू र हिंसा र हुलदंगा मच्चाउनेहरूलाई एउटै डालोमा राख्ने काम स्वीकार्य छैन।’
बमले राज्य संकटको अवस्थामा ज्यानको बाजी थापेर राष्ट्र, संविधान र लोकतन्त्रका निम्ति ऐतिहासिक योगदान दिने पूर्वप्रधानमन्त्री सुशीला कार्कीलाई समेत छानविनको दायरामा ल्याउन आयोगले गरेको सिफारिसप्रति पनि आक्रोस व्यक्त गरेकी छन्।
‘राज्य संकटको अवस्थामा ज्यानको बाजी थापेर राष्ट्र, संविधान र लोकतन्त्रका निम्ति ऐतिहासिक योगदान दिनुभएका व्यक्तिहरू पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री ओम प्रकाश अर्यालको नामसमेत जोडेर आफ्नो राजनीतिक दाउपेचको बीचमा पिस्ने काम नगर,’ उनले भनेकी छन्, ‘उहिल्यै तयार भएको मानव अधिकार आयोगको प्रतिवेदन अहिले सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक कार्यशैलीमा असक्षम हुँदै जानु, र यो प्रतिवेदनमार्फत अनाहकमा लोकतन्त्रका पक्षधरहरूको टाउकोमाथि तरबार झुन्ड्याउने सुविधा सरकारलाई पाउनु संयोग मात्र होइन होला।’
उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन चयनात्मक (सेलेक्टिभ) हुनु नहुनेमा पनि जोड दिएकी छन्।
‘राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सेलेक्टिभ होइन, अक्षरशः कार्यान्वयन गर। अनुसन्धान यथाशीघ्र सुरू गर,’ उनले भनेकी छन्।

Shares

प्रतिक्रिया