समाज


विशेष अदालतमा ‘प्रतिकुल बकपत्र’ गरेको आरोपमा तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

विशेष अदालतमा ‘प्रतिकुल बकपत्र’ गरेको आरोपमा तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १५:४३, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्रतिकुल बकपत्र गरेको आरोपमा तीन जना सरकारी साक्षीविरुद्ध मुद्दा दायर गरेको छ।

ढुण्डिराज दाहाल विरुद्धको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीहरू प्रल्हाद गौतम, विप्लव पोख्रेल र राजेश श्रेष्ठले विशेष अदालत समक्ष वकपत्र गर्दा प्रतिकूल बकपत्र गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार पोख्रेल, गौतम र श्रेष्ठले प्रतिवादी ढुण्डिराज दाहाललाई घुस/रिसवत दिएको कार्य कसुर पुष्टि भएको देखिएतापनि अनुसन्धानको क्रममा अनुसन्धान अधिकृतलाई सहयोग गरेको कारण सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीको रूपमा पेस गरिएको थियो।

उनीहरूले विशेष अदालतमा उपस्थित भई २०८३ वैशाख २५ गते बकपत्र गर्दा आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकूल हुने गरी बकपत्र गरेको अख्तियारको आरोप छ।

भुक्तानी प्रक्रियामा सहजीकरणको लागि विप्लव पोख्रेलले आरएसवि मेटलको तर्फबाट २७ हजार ३५० रुपैयाँ र अभियान्ता नेपालको तर्फबाट २९ हजार गरी जम्मा ५६ हजार ३५० रूपैयाँ, प्रल्हाद गौतमले शुभश्री टेक्नोलोजिज समेतको तर्फबाट ३७ हजार पाँच सय रूपैयाँ र राजेश श्रेष्ठले विप्लव पोखरेलमार्फत २७ हजार ३५० रूपैयाँ गरी कुल रकम रू ९३ हजार ८५० रूपैयाँ प्रतिवादी ढुण्डिराज दाहाललाई घुस/रिसवत दिएको दाबी गरिएको छ।

उक्त कार्य कसुर पुष्टि हुन आएको देखिँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर भएकोले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad