समाज


डा. श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी

डा. श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १४:३, काठमाडौँ

सरकारले डा.श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी दिएको छ। 

प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. गिरीलाई अर्को व्यवस्था नभएसम्मका लागि उपाध्यक्षको जिम्मेवारी दिएका हुन्। डा. गोविन्द केसीको माग अनुसार नै प्रधानमन्त्री शाहले आयोगको पूर्वउपाध्यक्षलाई नै तत्कालका लागि जिम्मेवारी दिएका छन्। 

सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश’ ल्याएपछि आयोगका तत्कालीन उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायतका पदाधिकारी पदमुक्त भएका थिए। पदाधिकारीहरू पदमुक्त भएसँगै आयोगको उपाध्यक्ष पद रिक्त रहेको थियो।

डा. झाभन्दा अगाडि डा. गिरी नै आयोगको उपाध्यक्ष थिए। उनी आयोगका पहिलो उपाध्यक्ष समेत हुन्।

मंगलबार नै उनले जिम्मेवारी लिएका छन्। आयोगको कार्यालय पुगेर कामकाज सुरु गरिसकेको उनले बताए। 

स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले सोमबार प्रेस विज्ञप्ति जारी गरी अर्को व्यवस्था नहुँदासम्म कामकाज सञ्चालनका लागि जिम्मेवारी तोक्न सरकारलाई आग्रह गरेको थियो। डा. केसीले तत्कालका लागि यसअघि नेतृत्व गरिसकेका व्यक्तिलाई नै जिम्मेवारी दिँदा उपयुक्त हुने सुझाव दिएका थिए। 

‘चिकित्सा शिक्षा ऐन तथा नियमावली मुताबिक निष्पक्ष ढङ्गले योग्यता, दक्षता, निष्ठा र स्वार्थ नबाझिने आधारमा नयाँ पदाधिकारीहरू चयन गर्न र नियुक्ति नहुन्जेल स्वच्छ छवि भएका आयोगका संस्थापक पूर्व पदाधिकारीहरूमध्येबाट अस्थायी नेतृत्वको व्यवस्था गर्न सरकारलाई पुनः स्मरण गराउँदै विगतका सम्झौताहरूको कार्यान्वयन गर्न र मागहरू शीघ्र सम्बोधन गर्न पनि सरकारको फेरि ध्यानाकर्षण गराउँदछु,’ डा. केसीले भनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad