हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भागनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज (मंगलबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोसी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भेगमा मौसम मुख्यतया सफा छ। मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो र रातिको सम्भावना के छ? यस्तो छ मौसम महाशाखाको प्रक्षेपण
दिउँसो : कोसी, बागमती र गण्डकी प्रदेशसहित बाँकी हिमाली र पहाडी क्षेत्रमा साधारणतया र बाँकी तराईको आकाशमा आंशिक बादल लाग्नेछ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान, मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा हिमपातको पनि सम्भावना छ। साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागमा तातो दिन हुने सम्भावना छ। मधेस प्रदेशसहित कोसी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हुरीको सम्भावना छ।
राति : कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित बाँकी हिमाली भेगमा साधारणतया, बाँकी पहाडी क्षेत्रको आकाशमा आंशिक बादल लाग्नेछ भने बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र मधेस प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ, हिमाली भेगमा हिमपातको सम्भावना छ। लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ।
काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना
आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार काठमाडौँ उपत्यकामा आज अपराह्न वा साँझपख हल्का खालको वर्षा हुने सम्भावना देखिएको हो।
गएराति र आज बिहान पनि काठमाडौँ उपत्यकाका केही स्थानमा हल्का वर्षा भएको थियो। अहिले भने रोकिएको छ।
मौसमविद् दाहालका अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको मौसम घाम-बादल, बादल-घाम हुने सम्भावना छ।
'दिउँसोपछि फेरि बादल बढ्दै जाने र अपराह्न वा साँझपख हल्का वर्षा हुने सम्भावना छ', उनले नेपालखबरसँग भने।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।
मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

Shares

प्रतिक्रिया