समाज


बीपी राजमार्गको ‘चार सय बेँसी’ क्षेत्रमा नयाँ ट्रयाकबाट सवारी चलाउने तयारी

बीपी राजमार्गको ‘चार सय बेँसी’ क्षेत्रमा नयाँ ट्रयाकबाट सवारी चलाउने तयारी

नेपालखबर
जेठ ९, २०८३ शनिबार १३:५८, काठमाडौँ

बीपी राजमार्गको मर्मत तथा पुनर्निर्माण अन्तर्गत चुनौतीपूर्ण मानिएको चार सय बेँसी खण्डको नयाँ ट्रयाक केही दिनभित्र सञ्चालनमा ल्याइने भएको छ। 

संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले शनिबार चार सय बेँसी क्षेत्रको स्थलगत अनुगमन गरी निर्माण कार्यको प्रगतिबारे जानकारी दिएका छन्। हाल सडकखण्डमा सवारी साधनहरू तलको डाइभर्सन (वैकल्पिक मार्ग) बाट गुडिरहेका छन्। 

माथिल्लो मुख्य ट्रयाक खुलिसकेको भए पनि निर्माण कार्यमा अवरोध नपुगोस् भन्ने उद्देश्यले अहिले सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिएको छैन। सभापति गजुरेलका अनुसार ट्रयाकको फाउन्डेसन तयार भइसकेको छ भने अब केही क्षेत्रमा पर्खाल लगाउने कार्य मात्र बाँकी रहेको छ। 

अनुगमनका क्रममा आयोजनाका प्राविधिकहरूले पछिल्लो १५ दिनमा ट्रयाक खोल्ने काम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएको उनले बताए। आगामी १० दिनभित्र फिलिङ र बाँकी निर्माण कार्य सकेर माथिल्लो सडकबाटै सवारी साधन गुड्ने वातावरण मिलाइने लक्ष्य राखिएको छ। 

बाढी वा अन्य कुनै संकटकालीन अवस्था आएमा भने अहिले पनि सो ट्रयाक प्रयोग गर्न सकिने अवस्था रहेको प्राविधिक टोलीको भनाइ छ। १० किलोमिटरको खण्डमा करिव सय जना कामदारहरू नियमित खटिएको जानकारी दिइएको छ। बहुसंख्यक सर्वसाधारण र

सरोकारवालाले तीन सिफ्टमा काम गराउन सुझाव दिए पनि कामदारको स्वास्थ्य र अर्को दिनको कार्यक्षमतालाई ध्यानमा राख्दै हाल १० घण्टाको कार्यतालिका अपनाइएको उनले बताए। 

परियोजनाअन्तर्गत भकुण्डेबेसी खण्डको जटिल कामहरू सम्पन्न भइसकेकाले यस ४२० किलोमिटरको खण्डलाई अन्तिम क्रिटिकल प्वाइन्टका रूपमा लिइएको छ।

सडकको सुरक्षाका लागि माटो भएको स्थानमा रिटेनिङ वाल र चट्टानी भागमा आवश्यक प्रोटेक्सन वाल लगाउने कार्य पनि सँगसँगै अगाडि बढाइनेछ। असार १५ गतेसम्म यो खण्डलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad