समाज


काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ६ जना घाइते

काठमाडौँ जाँदै गरेको गाडी दुर्घटना, चालकसहित ६ जना घाइते

नेपालखबर
जेठ ६, २०८३ बुधबार २०:३८, मकवापुर

मकवानपुरको भीमफेदी गाउँपालिका-६, जुरिखेत मोडस्थित भीमफेदी-कुलेखानी सडकखण्डमा गाडी दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।

बुधबार (आज) साँझ करिब ५ः३० बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज १३७१ नम्बरको ईभी दुर्घटनामा परेको हो।

मकवानपुर प्रहरीका अनुसार तीव्र गतिका कारण अनियन्त्रित भई सडकको बायाँ साइडको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित आठ जना सवार रहेकामा ६ जना सामान्य घाइते भएका छन्।

घाइते हुनेहरूमा गाडी चालक हेटौंडा उपमहानगरपालिका-१, लालझाडीका ३९ वर्षीय पूर्णबहादुर रुम्बा रहेका छन्। उनको छातीमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। चालकले मादक पदार्थ सेवन नगरेको र कागजातसमेत ठीक रहेको बताइएको छ।

यस्तै तनहुँको बन्दीपुर नगरपालिका-९ का ३८ वर्षीय मनोज गुरुङको दाहिने खुट्टामा चोट लागेको छ भने उनकी श्रीमती २८ वर्षीया उषा गुरुङको निधारमा चोट लागेको छ।

धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिका–४ का ४१ वर्षीय विकास झाको दाहिने हातमा चोट लागेको छ। भारतको बिहार राज्य सितामढी मेजरगञ्ज–९ निवासी ३४ वर्षीय सोनु रौनिहारको छातीमा चोट लागेको छ भने  उनकी श्रीमती २७ वर्षीया संगीता रौनिहारको शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि नेशनल अस्पताल कलंकी काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडीमा क्षति पुगेको भए पनि सडक अवरुद्ध भएको छैन। दुर्घटनाग्रस्त गाडी घटनास्थलमै रहेको छ।

दुर्घटना पश्चात् इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रहरी निरीक्षक सन्तकुमार श्रेष्ठको कमाण्डमा ट्राफिकसहित ५ जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad