विभिन्न जिल्लामा पोखरीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ।
रुपन्देही, महोत्तरी र मोरङमा पोखरी, खाडल र नदीको पानीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका-६ महजिदिया बस्ने सर्फदिन धोवीकी छोरी ६ वर्षीया अली लोधको पोखरीमा डुबेर मृत्यु भएको छ।
आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरीमा पौडी खेल्ने क्रममा उनी डुबेकी हुन्। पानीमा डुबेर अशक्त भएकी उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।
त्यसैगरी महोत्तरीको औरहीमा पनि पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु भएको छ। औरही नगरपालिका-२ स्थित न्यू बाबा इँटा भट्टामा काम गर्ने सिन्धुली घर भएका दिल बहादुर रानाका छोरा २ वर्षीय हिरा बहादुर रानाको मृत्यु भएको हो।
इँटाभट्टा परिसरमै रहेको पानी जमेको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यसैगरी मोरङको बेलबारी नगरपालिका-३ सिमपानेमा पनि पानीमा डुबेर एक बालकको मृत्यु भएको छ।
सिमपानी चोकस्थित बेतना खोलामा डुबेर सुन्दरहरैँचा नगरपालिका-११ बेलेपुर बस्ने राज कुमार विकका छोरा ८ वर्षीय आयुस विकको मृत्यु भएको छ।
पानीमा डुबेर अशक्त भएका उनको नोबेल अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया