विराटनगर विमानस्थलमा एक भारतीय नागरिक स्रोत नखुलेको झण्डै १६ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
यस्तै, ११ लाख रुपैयाँसहित सोही विमानस्थलबाट एक नेपाली नागरिकसमेत पक्राउ परेका छन्।
वैशाख १८ गते विराटनगर विमानस्थलमा चेक जाँचका क्रममा बुद्ध एयरको उडानद्वारा विराटनगरबाट काठमाडौँ जान लागेका सुनसरीको धरान उपमहानगरपालिका–१८ बस्ने वर्ष ३५ को दिलीप तामाङलाई उनले बोकेको ब्यागमा श्रोत नखुलेको नेपाली नगद ११ लाख रुपैयाँ फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
यस्तै, वैशाख १९ गते श्रीयएरको उडानद्वारा विराटनगरबाट काठमाडौँ जान लागेक यात्रु भारतका जिल्ला माल्दा सुजा गंज सिंधा चन्चला बस्ने वर्ष ३६ को मोहिदिल अलिले बोकेको ब्यागमा नेपाली नगद १५ लाख ९८ हजार रुपैयाँ स्रोत नखुलेको रकम फेला परेपछि उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
दुवैजनालाई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जनाएका छन्।
Shares

प्रतिक्रिया