अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मंगलबार आयोगले प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। उनीहरूलाई विद्यालय भवन निर्माण तथा अन्य विभिन्न शीर्षकमा बजेट हिनामिना गरेको आरोप लगाइएको छ।
विद्यालयको नमुना भवन निर्माण गर्दा प्राविधिक मूल्याङ्कनभन्दा बढी रकमको झुटा बिल भरपाई बनाई भुक्तानी लिएको अख्तियारको आरोप छ। भवनको पहिलो तला निर्माणका क्रममा वास्तविक लागतभन्दा पाँच लाख ९१ हजार ६६६ रुपैयाँ ९२ पैसा बढी भुक्तानी देखाएर हिनामिना गरिएको अख्तियारको दाबी छ।
त्यस्तै, उनीहरूले आर्थिक वर्ष २०७७/७८ देखि नै आपसी मिलेमतोमा विद्यालयको नगद जिन्सी तथा अन्य मौज्दात रकममा अनियमितता गरेको आरोप पत्रमा उल्लेख गरिएको छ। १६ लाख ६० हजार १०१ रुपैयाँ १९ पैसा बेरुजु देखिएको र १७ लाख १६ हजार ५२१ रुपैयाँ ६१ पैसा विद्यालयको नगद रकम व्यक्तिगत प्रयोगमा ल्याई दुरुपयोग गरिएको अख्तियारले आरोप लगाएको छ।
सबै गरेर ९३ लाख ८३ हजार ३०९ रुपैयाँ ७२ पैसा सरकारी तथा सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी निजी लाभमा प्रयोग गरेको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हदैसम्मको कैद र बिगो बराबरको जरिवाना मागदाबी गरेको छ।
Shares

प्रतिक्रिया