एक अर्ब ३० करोड विद्यार्थी प्रभावित हुनेगरि संसारभर नै विद्यालय बन्द भएको हालको अवस्थाबीच सुरक्षित तवरले विद्यालय पुन: सञ्चालन गर्नकालागि युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंकले संयुक्त रूपमा मार्गनिर्देशनहरू जारी गरेका छन्।
कोभिड-१९ को रोकथाम तथा सामना गर्नका लागि व्यापक रुपमा विद्यालय बन्द गरिएका कारण बालबालिकाको शिक्षाका साथै समग्र हितमा अभूतपुर्व जोखिम सिर्जना भएको ती राष्ट्रसंघीय निकाय लगायतले सोमबार जारी गरेको एक संयुक्त विज्ञप्तिमा बताएका छन्।
विशेषगरि सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा यसले ठुलो असर पार्ने बताउँदै ती निकायहरुले यी मार्गनिर्देशनहरूले राष्ट्रिय तथा स्थानीय अधिकारीलाई बालबालिका विद्यालय फर्केपछि कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारे व्यवहारिक सुझाव दिएका छन्।
“विद्यालय जानबाट बञ्चित बालबालिकाका लागि बढ्दो असमानता, कमजोर स्वास्थ्य अवस्था, हिंसा, बाल श्रम तथा बालविवाह आदि लगायत कैयौं दीर्घकालीन जोखिमहरू रहने गर्दछन्” युनिसेफकी कार्यकारी निर्देशक हेन्रिएटा फोरले बताएकी छन्, “जति धेरै समय बालबालिका विद्यालय जाँदैनन, उनीहरू फेरी विद्यालय फर्किने सम्भावना त्यति नै कम हुँदै जान्छ। सुरक्षित समय आउनासाथ हामीले विद्यालय पुनस्सञ्चालन गर्न सकेनौं भने यसबाट शिक्षामा अपुरणीय क्षति हुने सम्भावना उच्च रहन्छ।”
विद्यालय बन्द भएका कारण रोगको संक्रमणमा कस्तो प्रभाव पर्दछ भन्नेबारे पर्याप्त प्रमाण नभएतापनि बन्द विद्यालयका कारण बालबालिकाको सुरक्षा र सिकाईमा परेको ठुलो नकारात्मक प्रभावको प्रमाण रहेको कुरा उक्त मार्गनिर्देशनहरूमा उल्लेख छ।
पछिल्ला दशकहरूमा बालशिक्षाको क्षेत्रमा हासिल गरिएका उपलब्धीहरू गुम्नुका साथै अवस्था पहिलेको भन्दा झनै विग्रनसक्ने जोखिम सिर्जना भएको ती अन्तर्राष्ट्रिय निकायहरुको संयुक्त विज्ञप्तिमा उल्लेख छ।
“अति विपन्न राष्ट्रहरूमा बालबालिका दिनभरीको एक छाक खानाको लागि प्रायः विद्यालयमा भर पर्ने गर्छन्। तर अहिले कोभिड-१९ का कारण विद्यालयहरू बन्द भएसँगै लगभग ३७ करोड बालबालिकाले उक्त पोषणयुक्त भोजन गुमाईरहेका छन्, जुन उनीहरूकालागि अत्यन्तै महत्वपूर्ण हुने गर्थ्यो। यस बाहेक विद्यालयमा प्राप्त हुने स्वास्थ्य सेवाबाट समेत उनीहरू बञ्चित भएका छन्। यसको असर दीर्घकालीन हुन सक्छ। त्यसैले विद्यालय पुनस्सुचारू भएसँगै विद्यालयमा खाना तथा स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हुन्छ, जसले गर्दापनि अत्यन्तै जोखिममा रहेका बालबालिकालाई विद्यालय जान प्रोत्साहन मिलोस्”, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले भनेका छन्।
मार्गनिर्देशनमा राष्ट्रिय तथा स्थानीय अधिकारीले विद्यालय पुनस् सुचारू गर्ने निर्णय लिँदा शिक्षा, जन-स्वास्थ्य तथा आर्थिक-सामाजिक पक्षमा गरिएको तथ्यपरक विश्लेषणका आधारमा बालबालिकाको सर्वोत्तम हित तथा समग्र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न जोड दिइएको छ।
कैयौं राष्ट्रहरूले अब कहिले विद्यालय पुनस् सुचारू गर्ने भनेर विश्लेषण गरिरहेको अवस्थामा विश्वव्यापी शिक्षा गठबन्धनको सदस्यका रूपमा युनेस्को, युनिसेफ, विश्व खाद्य कार्यक्रम तथा विश्व बैंकले सरकारहरूलाई बालबालिका विद्यालय जानु र संक्रमण बढ्नु बीचको सम्बन्ध अप्रमाणित रहेको तथ्यलाई ध्यानमा राख्दै दुर-शिक्षाको तुलनामा कक्षाकोठामा आधारित शिक्षाका फाईदाहरू र विद्यालय खुलेपछिका जोखिमहरू दुवै पक्षको समिक्षा गरेर निर्णय लिन संयुक्त आव्हान गरिएको उनीहरुले बताएका छन्।
“निकै लम्बिएको विद्यालय बन्दका कारण कैयौं बिद्यार्थीहरू आफ्नो सिकाईको यात्रामा पछाडी परिरहेको अवस्थामा निकै कठिन भएता पनि विद्यालय पुनस्सञ्चालन कहिले र कसरी गर्ने भन्ने विषय आजको प्राथमिकतामा राखिनुपर्दछ,’ युनेस्कोका महानिर्देशक अड्री अजुलेको भनाई छ, ‘स्वास्थ्य क्षेत्रबाट परिस्थिति सुरक्षित रहेको संकेत पाउने वित्तिकै कुनैपनि विद्यार्थीलाई नछोडी शिक्षा सेवा सुचारू गर्नको लागि धेरै पूर्वतयारीको आवश्यकता पर्दछ।’
सुरक्षित तवरले सञ्चालन गर्नका लागि रोगको संक्रमण न्युनिकरण गर्ने, अत्याश्यक सेवा सुविधाको उपलब्धता, र स्वस्थ आनीबानी प्रवर्धन गर्ने अवस्था सुनिश्चित गर्न सो मार्गनिर्देशकले जोड दिएको छ। ‘यस अन्तर्गत, साबुन र सफा पानी सहितको हात धुने व्यवस्था, कर्मचारी तथा विद्यार्थीले अस्वस्थ महसुस गरेमा के गर्ने बारे जानकारी, सामाजिक दुरी कायम गर्ने र सरसफाईका अभ्यास लगायतका जानकारी सम्मिलित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
समय गुमेका कारण छुटेको शिक्षणका सत्रहरू पुनस्प्राप्त गर्नकालागि विशेष अभ्यासहरू, सिकाईका विधिको सुदृढिकरण र दुरशिक्षा जस्ता विधिको प्रयोग द्वारा मिश्रित शिक्षा प्रणालीको विकास गर्न विशेष ध्यान दिन जोड दिइएको छ। त्यसो गर्दा रोग संक्रमण तथा रोकथामका बारेमा जानकारी समावेश गर्न सुझाव दिइएको छ।
विद्यार्थीको समग्र हितमा ध्यान दिनुपर्ने र स्तरिकृत सिफारिस प्रणाली र स्वास्थ्य तथा विद्यालयमा पोषण सेवा जस्ता अत्यावश्यक सेवाहरू मार्फत बाल संरक्षणलाई सुदृढिकरण गर्नुपर्नेमा ती निकायको जोड छ।
विद्यालय सुचारू गर्दा विगतमा विद्यालय बाहिर रहेका, विस्थापित तथा प्रवासी बालबालिका लगायत अल्पसंख्यक समुहलाई समेत समेटिने गरी सुचारू गर्ने नीति तथा अभ्यासलाई परिमार्जन र विस्तार गर्न तथा अत्यावश्यक सुचना संप्रेषण गर्दा स्थानीय भाषा र सहजै बुझिने ढाँचामा गर्न उनीहरुले सुझाएका छन्।
“विद्यालयहरू पुनस्सुचारू हुदै गर्दा सिकाईका ठुला अवसर गुमाएकाहरूलाई विशेष ध्यान दिई विद्यार्थीहरूलाई विद्यालयको वातावरणमा सुरक्षित तवरले समायोजन गर्ने कार्य प्रमुख प्राथमिकतामा पर्नेछन्। यो एक अत्यन्तै महत्वपूर्ण समय हो किनभने प्रभावकारीता तथा समानता सुनिश्चित गर्दै नयाँ विधि स्थापना गर्ने यो नयाँ अवसर पनि हो। विद्यालय पुनस्सुचारू गर्नको लागि शिक्षण जनशक्तिपनि आवश्यक तयारीका साथ तत्पर अवस्थामा रहनुपर्दछ," विश्व बैंकका विश्वव्यापी शिक्षा निर्देशक जेमी सावेर्दाले बताएका छन्।
त्यसो गर्दा उनीहरूसँग सिकाईका अवसर गुमाएका चरम वञ्चितिकरणमा परेका विद्यार्थीको शिक्षामा सघाउन उपयुक्त योजना तयारी अवस्थामा हुनुपर्ने र संयुक्त राष्ट्रसंघीय प्रमुख निकायहरूको एकिकृत उद्देश्यसँग मिल्ने गरि यस निर्देशिकाले उपयुक्त मार्गनिर्देशन गर्ने उनले जनाएका छन्।
प्रतिक्रिया