समाज


सवारी दुर्घटनामा बाबुछोरासहित ८ जनाको मृत्यु

सवारी दुर्घटनामा बाबुछोरासहित ८ जनाको मृत्यु

नेपालखबर
बैशाख १४, २०८३ सोमबार १३:३१, काठमाडौँ

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा बाबुछाेरासहित आठ जनाको मृत्यु भएको छ। 

बारा, नवलपरासी, कपिलवस्तु, चितवन, कास्की, बर्दिया लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो। 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-८ मैनिहवामा पकडीबाट तौलिहवातर्फ आउँदै गरेको लु.३१ प ७५०० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रामा रहेका बाबुछोराकै मृत्यु भएको छ। 

मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका-८ पूर्वी मैनिहवा बस्ने ३५ वर्षीय गृजेश कुर्मी र उनकै छोरा ३ वर्षीय आयंश कुर्मी चौधरी रहेका छन्।

आइतबार भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको गएराति मृत्यु भएको हो। 

ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज रूपन्देही रिफर गरिएको छ।

त्यसैगरि बाराको कोल्हवी नगरपालिका-५ बलुवामा ककडीबाट बेल्वा बजारतर्फ जाँदै गरेको ना.६४ प ८०४२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक कोल्हवी नगरपालिका-५ बस्ने १९ वर्षीय राम किशोर चौधरी छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरि नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिका-३ चौरंगीमा लु.३ त ३८५२ नम्बरको अटो र लु-३ त ९८७३ नम्बरको ट्याक्टर आपसमा ठक्कर खाँदा अटो चालकको मृत्यु भएको छ। 

गएराति भएको दुर्घटनामा अटो चालक सोही ठाउँ निवासी ४२ वर्षीय दुर्गा बहादुर रानाको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि नवलपरासी पूर्वकै मध्यबिन्दु नगरपालिका-११ गडर खोलामा लु.१अ यो १६ नम्बरको टिपरले म.प्र.०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार बझाङ बित्थडचिर गाउँपालिका-३ घर भएका २३ वर्षीय भुवन बोहरा छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनालाई थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको छ। 

दुर्घटनापछि फरार भएका टिपर चालकको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

त्यसैगरि चितवनको रत्ननगर नगरपालिका-३ शान्ति चोकस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-१०-००१ ख ३९०१ नम्बरको बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा खैरहनी नगरपालिका-१ मा डेरा गरी बस्ने पर्सा घर भएका ४३ वर्षीय किसुन महतो थारू छन्। 

उनको उपचाररको क्रममा सोमबार बिहान मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुर लगिएको थियो। 

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि कास्कीको पोखरा महानगरपालिका-८ सभागृह चोकमा हरिचोकबाट छोरेपाटनतर्फ जाँदै गरेको ग.१ ज ४५६२ नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा पोखरा महानगरपलिका-८ सिमलचौर बस्ने सिन्धुली दुधौली नगरपालिका-१ घर भएकी ४५ वर्षीया मायावती कुमर छिन्। आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको हो। 

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरि बर्दियाको बारबर्दिया नगरपालिका-५ मगरागाडी चोकमा भे-२ स २४४८ नम्बरको अटोबाट खसेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बारबर्दिया नगरपालिका-६ गुलरा बस्ने ६० वर्षीया उषा थारू छिन्। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad