मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) कोसी प्रदेशसहित कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया अनि लुम्बिनी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल लागेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा छ। कोसी प्रदेशका एक-दुई स्थानमा मध्यमसम्म वर्षा/हिमपात भइरहेको छ।
मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ। अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा भने तातो दिन हुने सम्भावना छ।
यस्तै आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा/हिमपात हुने सम्भावना छ।
काठमाडौँमा पनि मध्यम वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार आज काठमाडौँ उपत्यकामा पनि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
आज बिहानैदेखि धुम्म परेको काठमाडौँ उपत्यकाका कतै कतै हल्का वर्षा पनि सुरु भइसकेको उनले बताए।
'अहिले काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकेको छ', उनले नेपालखबरसँग भने, 'मेघगर्जन पनि सुनिएको छ, चन्द्रागिरिलगायत केही स्थानमा हल्का पानी परिरहेको छ।'
मौसमविद् ढकालका अनुसार काठमाडौँको मौसम केही घण्टा यस्तै रहने सम्भावना छ। 'दिउँसो केही बेर मौसम केही खुल्ने सम्भावना पनि छ', मौसमविद् ढकालले भने, 'तर फेरि मौसम बदली भई मध्यमसम्म वर्षा हुने सम्भावना छ।'

Shares

प्रतिक्रिया